बारा र पर्सामा ८ लाखले लगाए हैजाविरुद्ध खोप

21 October, 2025 214 Views
बारा र पर्सामा ८ लाखले लगाए हैजाविरुद्ध खोप
214

 कात्तिक, काठमाडौं। बारा र पर्सामा ८ लाखले हैजाविरुद्ध खोप लगाएका छन्। हैजा संक्रमण तीव्र भएपछि सरकारले २६ असोजदेखि बारा र पर्सामा खोप अभियान सुरू गरेको थियो।

१० दिनमा पर्सामा ५ लाख ४७ हजार ३११ र बारामा ३ लाख १७ हजार २४२ जनाले खोप खाएको परिवारको कल्याण महाशाखाले जनाएको छ।

६ भदौमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा १२ को मुरली टोलबाट हैजा संक्रमण फैलिएको थियो। त्यसपछि वीरगञ्जका अन्य वडा, पर्साका स्थानीय तह र बाराका केही भागमा फैलिएको छ।

सरकारले पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहमा र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिइरहेको छ।

बारा र पर्सामा गरी कुल १० लाख १८ हजार खोप दिइने लक्ष्य छ। हालसम्म ८५ प्रतिशतले खोप लिएका छन्। मुखबाट खुवाइने इयूभिकोल–एस खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त प्रमाणित भएको खोप हो।

नेपालको नियामक निकाय औषधि व्यवस्था विभागमा दर्ता भएको छ। यसको एक मात्रै दिइने छ। यसभन्दा अगाडि पनि काठमाडौं उपत्यका र कपिलवस्तुमा हैजाविरुद्धको खोप दिइएको थियो।

 

Related Post