कर्फ्यूबीच सुनसरीमा प्रदर्शन उग्र, सेना परिचालन

27 July, 2026 44 Views
कर्फ्यूबीच सुनसरीमा प्रदर्शन उग्र, सेना परिचालन
44

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा जारी कर्फ्यूबीच प्रदर्शन र तोडफोडका घटना नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ ।

देवानगञ्ज घटनालाई लिएर सुनसरीका विभिन्न स्थानमा प्रदर्शन चर्किएपछि कर्फ्यू जारी भएका क्षेत्रमा सेना परिचालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

बिहानदेखि कर्फ्यू उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो । प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिए पनि भिड नियन्त्रणमा कठिनाइ भएपछि सेना परिचालन गर्नुपरेको सीडीओ घिमिरेले बताए । बख्तरबन्द गाडीसहित हतियारधारी सेनाको टोली कप्तानगञ्ज पुगेको छ ।

आइतबार राति दुई समुदायबीच तनाव उत्पन्न भएपछि प्रहरीले गोली चलाएको थियो । घटनामा एक जनाको मृत्यु भएको छ भने प्रहरीसहित २१ जना प्रदर्शनकारी घाइते भएका छन् ।

घटनापछि सुनसरीको लौकही, जिल्ला सदरमुकाम इनरुवालगायतका क्षेत्रमा पनि प्रदर्शन भइरहेको छ । कप्तानगञ्ज, देवानगञ्ज र हरिनगर क्षेत्रमा कर्फ्यू उल्लंघन गर्दै स्थानीय समूह–समूहमा सडकमा उत्रिएका छन् ।

सुरक्षा चुनौती बढेपछि कोशी प्रदेशका विभिन्न जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र दंगा नियन्त्रणका विशेष टोलीसमेत सुनसरीमा परिचालन गरिएको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार कप्तानगञ्जको अवस्था थप संवेदनशील हुन नदिन प्रदेशभरका जिल्लाबाट अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Related Post