काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य फेरि बढेको छ। लगातार दोस्रो दिन मूल्य बढ्दै छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ९ सय रुपैयाँले बढेको हो। बिहीबार सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसअघि बिहीबार मात्रै सुनको मूल्य एकै दिन प्रतितोला ८ हजार रुपैयाँले बढेको थियो। त्यसको भोलिपल्ट पनि मूल्य उकालो लागेसँगै सुनले नयाँ उच्च मूल्य कायम गरेको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि सामान्य रूपमा बढेको छ। बिहीबार प्रतितोला ४ हजार ५ सय ७० रुपैयाँ रहेको चाँदी शुक्रबार १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनको प्रभाव नेपाली बजारमा पनि देखिएको हो।