काठमाडौं, साउन २१ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वर्तमान अवस्था, चुनौती तथा आगामी योजनाबारे छलफल भएको छ।
बैठकमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले सरकारी स्वास्थ्य संस्थाको सेवा थप प्रभावकारी र गुणस्तरीय बनाउने प्रयास भइरहेको बताएका छन्। उनले सरकारी अस्पतालहरूले राम्रो सेवा दिन सके निजी क्षेत्रसँगको निर्भरता क्रमशः घटाउँदै लैजाने सरकारको नीति रहेको स्पष्ट पारे।
सचिव देवकोटाका अनुसार हाल निजी क्षेत्रमार्फत सेवा लिइरहेका करिब सात प्रतिशत जनसङ्ख्यालाई समेत सरकारी स्वास्थ्य संस्थामार्फत सहज रूपमा सेवा दिन सकिने अवस्था सिर्जना गर्न सरकार लागिपरेको छ। सरकारी अस्पतालको सेवा स्तर सुधारिएमा नागरिकको विश्वास पनि बढ्ने उनको भनाइ छ।
उनले अहिलेको व्यवस्थाबाट कुनै उल्लेखनीय समस्या नदेखिएको समेत बताए। साथै, स्वास्थ्य सेवा क्षेत्रमा हुने सरकारी खर्चमा उल्लेख्य कमी आएको जानकारी दिँदै पहिले मासिक करिब २ अर्ब रुपैयाँ खर्च हुने गरेकोमा अहिले खर्च घटेर करिब ८८ करोड रुपैयाँमा सीमित भएको बताए।
सेवाग्राहीले आवश्यक स्वास्थ्य सेवा पाउनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले खर्च घट्दैमा सेवा प्रभावित हुन नहुने धारणा व्यक्त गरे।
भुक्तानी रोकिएको विषय सञ्चारमाध्यममा उठ्ने गरेको सन्दर्भमा सचिव देवकोटाले पुस महिनासम्मका सबै भुक्तानी फर्छ्योट भइसकेको जानकारी दिए। पछिल्लो करिब छ महिनाको भुक्तानीका लागि आवश्यक रुजु तथा प्रक्रिया भने जारी रहेको उनले बताए।