काठमाडौं । फोनपे क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकको संख्या दुई वर्षमै ५० हजारभन्दा बढी पुगेको छ। फोनपेले यो उपलब्धिलाई नेपालको डिजिटल वित्तीय सेवाको विस्तारमा महत्वपूर्ण उपलब्धि भएको जनाएको छ।
कम्पनीका अनुसार सहज, छिटो र डिजिटल माध्यमबाट कर्जा सुविधा लिन सकिने भएकाले क्रेडिट कार्डप्रति ग्राहकको आकर्षण बढ्दै गएको हो। यसले डिजिटल क्रेडिटप्रति उपभोक्ताको विश्वास पनि बढिरहेको देखाएको फोनपेको दाबी छ।
हाल फोनपे क्रेडिट कार्डका लागि सिटिजन्स बैंक इन्टरनेसनल, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, एभरेस्ट बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र मञ्जुश्री फाइनान्ससँग सहकार्य गरिएको छ।
यी बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ एपबाट ग्राहकले क्रेडिट कार्डका लागि आवेदन दिनुका साथै कार्ड प्राप्त र सक्रिय गर्न सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ।
फोनपे क्रेडिट कार्डबाट देशभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टमा स्क्यान गरेर भुक्तानी गर्न सकिन्छ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारका अनुसार नेपालमा परम्परागत क्रेडिट कार्डको प्रयोग सुरु भएको करिब ३६ वर्षमा प्रयोगकर्ता संख्या तीन लाखभन्दा केही बढी पुगेको छ। तर फोनपे क्रेडिट कार्डले दुई वर्षमै ५० हजारभन्दा बढी प्रयोगकर्ता जोड्न सफल भएको उनले बताए।
उनका अनुसार यो उपलब्धि प्रयोगकर्ताको संख्या बढेको विषयमा मात्र सीमित छैन। डिजिटल माध्यमबाट क्रेडिट सेवाको पहुँच विस्तार गर्दै यसलाई थप समावेशी र सहज बनाउने दिशामा पनि यसले योगदान पुर्याएको छ।
फोनपेले पछिल्लो उपलब्धिले नेपालमा एम्बेडेड फाइनान्सको प्रयोग बढ्दै गएको समेत देखाएको जनाएको छ। ग्राहकको बैंकिङ आवश्यकता तत्काल, कागजरहित र डिजिटल माध्यमबाट पूरा गर्ने प्रवृत्ति बढिरहेका बेला फोनपे क्रेडिट कार्डले वित्तीय सेवा प्राप्त गर्ने तरिकामा भइरहेको परिवर्तनलाई थप गति दिएको कम्पनीको दाबी छ।