Logo


SIMRIKKHABAR



ओली सरकारलाई काँग्रेसको कटाक्षः बयलगाडा चढ्ने खालको बजेट

admin जेष्ठ २६ , २०७६

बुटवल– नेपाली काँग्रेसका नेता एवम् प्रवक्ता विश्वप्रकाश शर्माले पाँच वर्षका लागि गठन भएको सरकारले दुर्गामी महत्वलाई ध्यान नदिई बजेट ल्याएको बताएका छन् । नेपाल प्रेस युनियन अर्घाखाँचीले गरेको पत्रकार सम्मेलन र काँग्रेस अर्घाखाँचीले वीपी स्मृति भवन सन्धिखर्कमा गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी ओलीले बायुपङ्खी घोडाको कुरा गर्ने तर अहिले बयलगाडा चढ्ने जस्तो खालको बजेट ल्याउँदा समृद्धीको सगरमाथा बयलगाडा चढेर पुग्न नसक्ने टिप्पणी गरे  ।  कार्यक्रममा प्रवक्ता शर्माले भने ‘सरकारले सासंद विकास कोषलाई बाँढेको रकम नीतिगत रुपमै बाँडफाँड गर्नु गलत भएको छ ।’ 

शर्मा भन्छन्, ‘स्थानीय र प्रदेश सरकारलाई बलियो बनाउनुको सट्टा सासंद विकास कोष राख्नु गलत भएको बताउँदै काँग्रेसले स्थानीय र प्रदेशलाई बलियो बनाउन लाग्ने बताए ।’  काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका शर्माले विप्लव नेतृत्वको नेकपालाई मारकाटको विद्रोह छाडेर शान्तिपूर्ण मूलधारको राजनीतिमा आउन सुझाव दिए । देशमा गणतन्त्र, नयाँ संविधान निर्माण र संघीयताका लागि विप्लवको पनि भूमिका रहेकाले सहमतिका आउनका लागि उनले आग्रह गरे ।

‘विप्लवहरुले प्रचण्डलाई मार्ने  लिस्टमा राखेको बताइन्छ’ उनले भने, ‘अहिलेको प्रचण्ड हिजोको प्रचण्ड होइन । हिजोको प्रचण्ड बुलेट्बाट शक्ति आउँछ भन्ने प्रचण्ड हुनुहुन्थ्यो, अहिलेको प्रचण्ड ब्यालेटबाट शक्ति आउँछ भन्ने हुनुहुन्छ  । शान्ति प्रक्रियामा प्रचण्डलाई पनि बाँच्ने अधिकार छ  । अखिर विप्लवहरुले प्रचण्डलाई मारेर कस्तो खालको राज्यसत्ता ल्याउन खोजेको हो ?’

उनले प्रधानमन्त्री केपी ओलीसहित सत्तारुढहरु र विप्लवहरु एउटै कम्युनिष्ट भएको बताउँदै प्रधानमन्त्री ओलीलाई विप्लव समूहको बलि नचढाउन समेत सुझाव दिए । ‘तपाईहरु पनि कम्युनिष्ट नै हो विप्लवहरु पनि कम्युनिष्ट नै हो । यसरी जात थर गोत्र सबै एउटै भएका विप्लवहलाई बलि चढाउने र रगतको खोला बगाउने काम नगर्नुहोस् ।’

बालुबाटार काण्ड र हवाइटबडी खरिदमा सभापति शेरबहादुर देउवा संलग्न रहेको भए दुइतिहाईको सरकारले कार्वाही गरेर देखाउन चेतावनी समेत उनले दिए ।   

उनले काँग्रेसमा गुटको अन्त्य गरी नयाँ सन्देश प्रवाह गर्न र जनतासँग नजिक हुनका लागि जागरण अभियान सञ्चालन गरेको बताए । जागरण अभियानको मुख्य उद्देश्य बारे परिभाषा दिँदै उनले भने, ‘हिमालको अर्थ हिम्मत, पहाडको अर्थ परिपक्कता, तराईको अर्थ तप्परता, मधेशको अर्थ मध्यस्थकर्ता भई अगाडी बढ्नु हो ।’