सरकारले किसानलाई सहुलियत दरमा बिक्री गर्दै आएको रासायनिक मलमा घोटाला भएको पाइएको छ । अनुदान मल खरिद गर्न जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले मलको लागत मूल्यभन्दा बढी रकम तिरेर घोटाला गरेका हुन् ।
गागलफेदीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदी स्थित घट्टेखोलामा खसेको पहिरोमा परेर २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले जानकारी दिए । आइतबार साँझ पहिरोमा पुरिएका नवराजको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पता महराजगञ्जमा राखिएको छ ।
वीरगन्ज महानगरपालिका–४ मा नक्कली कागजको आधारमा करिव ५० करोडको जग्गा व्यक्तिको नाममा नामसारी गरेको खुलेको छ । मालपोल कार्यालय वीरगन्जका केही कर्मचारीहरुको संलग्नतामा नक्कली कागजहरु पेस गरेर जग्गा नामसारी गराइएको खुलासा भएको हो । जग्गा धनीको नक्कली छोरा बनेर काठमाडौका मुकेश राजभण्डारी, राकेश राजभण्डारी, रूपेश राजभण्डारीले जग्गा नामसारी गरेको पाइएको हो ।
भारतमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार एक सय सात पुगेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा ४० हजार दुई सय ४३ जनामा कोरोना देखिएको छ भने ६ सय ७५ जनाको मृत्यु भएको छ। सोमबार बिहानसम्म भारतमा कोरोनाबाट २७ हजार पाँच सय तीन जनाको मृत्यु भएको छ। अझै आठ हजार नौ सय ४४ जना गम्भीर रहेका छन्। कोरोना संक्रमितमध्ये सात लाख तीन सय ९९ जना निको भएका छन्।
नेपाली बजारमा सोमबार सुनको मूल्यमा २०० रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँनी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ ।
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ४६ लाख ४६ हजार ७०७ पुगेको छ । यस्तै कोरोना संक्रमणको कारण ६ लाख ८ हजार ९७८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले सोमबार जानकारी दिएको छ । संक्रमित मध्ये हालसम्म ८७ लाख ३७ हजार ८३५ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५२ लाख ९९ हजार ८९४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ५९ हजार ६०६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
दार्चुलाको नौगाड गाउँपालिका–६ स्थित परिगाउँ खोलामा गएरातिको अविरल वर्षाका कारण आएको बाढीले घर र गोठ बगाउँदा ५ वर्षीय बालिका सहित २ जनाको मृत्यु भएको छ । यस्तै ३ घर र एक विद्यालय बगाउँदा ८५ चौपाया समेत बगेका छन् ।
आइतबारबाट परिरहेको पानीका कारण रौतहटमा डुबान र बाढीको त्रास बढेको छ । लगातार पाँच दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार रौतहटमा पनि आईतबार बिहानैदेखि अविरल बर्षा भइरहेको छ । जिल्लाभर बर्षा भइरहेका कारण जिल्लाका दक्षिणी क्षेत्रहरुका बासिन्दा त्रासमा बस्न बाध्य छन् । केही दिनअघि परेको निरन्तर बर्षाका कारण लालबकैया र बागमती खोलाले रौतहटका नागरिकमा त्रास सिर्जना गरेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ देखि आन्तरिकतर्फ र भदौ १ देखि अन्तर्राष्ट्रियतर्फको पनि हवाई सेवा खुलाउन उच्चस्तरीय समितिलाई सिफारिस गरेको छ । मन्त्रालयले सहसचिव बुद्धिसागर लामिछानेको संयोकजत्वमा गठित समितिले दिएको सुझावअनुसारै उच्चस्तरीय समितिलाई सिफारिस गरिएको हो ।
नेपालमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौंका २, ललितपुरका १ सहित १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। हाल सक्रिय संक्रमितको संख्या ५ हजार ९३६ जना र निको भएका सहित कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको गौतमले बताए । पछिल्लो २४ घण्टामा ४ हजार २१६ जनाको पीसीआर परीक्षण भएको छ भने थप १७३ जना डिस्चार्ज भएका छन् ।