विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नेपालस्थित कार्यलयले आधारभुत स्वास्थ्य सुरक्षाका सावधानीहरु प्रयोग नगरेका कारण नेपालमा कोरोना संक्रमितको संख्या बढेको जनाएको छ । मानिसहरूले पर्याप्त दूरी कायम नगरेकाले नै जीवाणु फैलन सजिलो भएको जनाएको हो । डब्लुएचओका नेपाल प्रतिनिधि डा। जोस भ्याण्डेलरले नेपालमा केही स्थानमा संक्रमण समुदाय स्तरमा नै फैलिएको बताउनुभयो ।
चीनको वुहानमा कोरोना संक्रमण भएर निको भएका ५ प्रतिशत संक्रमितमा फेरि परीक्षण नतिजा पोजेटिभ देखिएपछि क्वारेन्टिनमा राखिएको छ। संक्रमण निको भएका ९० प्रतिशत मानिसको फोक्सो अझैं निको नभएको सार्वजनिक भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी, सामुदायिक तथा निजी कार्यालयहरुमा बैठक, गोष्ठी, सेमिनार तथा अन्य जमघट तुरुन्त बन्द गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बन्द गर्न नमिले भर्चुअल रुपमा बैठक बस्न आग्रह गरे ।
बिहीवार नेपालमा कोरोनाभाइरसका कारण पाँच जनाको मृत्यू भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार अपराह्ण दिएको जानकारी अनुसार ५ जनाको निधन भएको हो । एकै दिन पुष्टि भएको यो सर्वाधिक सङ्ख्यामा मृत्यु हो। यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ६५ पुगेको छ।
काठमाडौं उपत्यकामा ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या हालसम्मकै धेरै हो ।
बिहिबार नेपालमा ३६० जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ ।
जिल्लामा एकै दिन ४३ जना सङ्क्रमित कोरोना जितेर घर फर्केका छन् । गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाका अनुसार एकैपटक नौ महिलासहित ४३ जना निको भएका हुन् ।
रुपन्देहीमा आजदेखि राष्ट्रिय परिचयपत्रका लागि तथ्याङ्क सङ्कलन शुरु गरिएको छ । तथ्याङ्क सङ्कलनका लागि नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिले आवश्यक विवरण भरेर आवेदन दिनसक्ने प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।
नयाँ आर्थिक वर्ष शुरु भएसँगै जिल्ला दररेट निर्धारण समितिले मजदूरको ज्यालामा हेरफेर गरेको छ । जिल्ला प्रशासन कार्यालयअन्तर्गतको समितिले बजार महँगी बढ्दै गएपछि दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक बढाएको हो ।
आजबाट काठमाडौं उपत्यका र दुई सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागु भएको छ । कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोरको आधारमा सवारी साधन सन्चालन गर्ने निर्णय गरेको हो ।