मुग्लिन, ६ साउन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना–५ भोटेस्वरामा एक घर पहिरोले बगाएको छ भने बस्ती नै जोखिममा परेको छ । आइतबारदेखि परेको अविरल वर्षाका कारण गएराति कमल विकको घर बगाएको हो । पहिरोको जोखिम आँकलन गरेर उनीहरु राति नै बुबाआमाको घरमा गएर बसेका कारण मानवीय क्षति भने हुन नपाएको स्थानीय शिक्षक यानबहादुर गुरुङले जानकारी दिए ।
यसैबीच भोटेस्वरा, बदेँलटार, मड्केनी र बक्सेर रानागाउँका ४० घरपरिवारले घर छाडेका छन् । बस्ती नै जोखिममा परेपछि ती गाउँका बासिन्दा पामडाँडा आधारभूत विद्यालयको भवन र छिमेकी गाउँ किटस्वरा गाउँमा आएर बसेको शिक्षक गुरुङले जानकारी दिए । साथै पहिरोले खानेपानी पाइप बगाउँदा खानेपानी हाहाकार भएको छ । किटस्वरा, पामडाँडा र साठीमुरेका करिब ७० घरधुरीले खाने पानीको पाइप बगाएको उनले बताए ।
यसैबीच वडाध्यक्ष मोदराज सिलवालले वडा नं ५ कै मुग्लिनबजारमा दुई घर पहिरोले बगाएको र पाँच घर जोखिममा रहेको जानकारी दिए । ती परिवारलाई त्रिवेणी वराह मावि मुग्लिनमा बस्ने व्यवस्था मिलाइएको वडाध्यक्ष सिलवालले बताए । अहिले कहाँ कति क्षति भएको छ भन्नेबारे विवरण लिने काम भइरहेको जानकारी दिए । रासस
इच्छाकामना ५ भोटेश्वर बस्ती जोखिममा परेपछि ४० परिवारले घर छाडे
- सिम्रिक खबर
- • ६ महिना अगाडि