झापाको गौरीगञ्ज गाउँपालिकासँग सीमा जोडिएको नेपाल–भारत सीमावर्ती क्षेत्रमा सशस्त्र र भारतीय नागरिकबीच झडप भएको छ । झापाको भारतीय सीमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीमाथि फेरि भारतीय नागरिकले आक्रमण गरेका हुन् ।
गौरीगञ्ज गाउँपालिका–५ मलाहका टोल नजिकैको सीमा क्षेत्रमा शनिबार राति साढे ९ बजे प्रहरी र भारतीय नागरिकको एक समूहबीच झडप भएको हो । सीमावर्ती भारतीय गाउँबाट घरेलु हतियारसहित आएको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई नियन्त्रणमा लिन चार राउण्ड हवाई फायर गर्नु परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरीका अनुसार सीमास्तम्भ १५२ नजिकै झडप भएको हो । भारतीय पक्षको आक्रमणबाट दुई सशस्त्र प्रहरी जवान सामान्य घाइते भएका छन् । सो टोलबाट नेपालतर्फ सामान तस्करी हुँदै आएको थियो । लकडाउनसँगै प्रहरीले नाकामा कडाई गरेपछि तस्करको समूह योजनावद्ध रुपमा आक्रमणका लागि आएको प्रहरीले बताएको छ । घटनामा सशस्त्र प्रहरी जवान सामान्य घाइते भएको सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले जानकारी दिएका छन् ।
घटनापछि भारतीय पक्षसँग छलफलको तयारी भइरहेको उनले बताएका छन् । शुक्रबार र बिहीबार राति पनि सुनसरीको सीमावर्ती क्षेत्रमा पनि सुरक्षाकर्मीमाथि भारतीय नागरिकले आक्रमण गरेका थिए ।
नेपाल–भारत सीमावर्ती क्षेत्रमा सशस्त्र र भारतीय नागरिकबीच झडप
- सिम्रिक खबर
- • ६ महिना अगाडि