असार २१ गते बेलुका बौद्धमा गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएर उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु हुनेको बीस दिनपछि पहिचान खुलेको छ ।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका– ९ का ६० वर्षीय हर्कजित लामा रहेका छन् । महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले भने, ‘ट्रमा सेन्टरमा २० दिनसम्म बेवारिसे अवस्थामा रहेको लामाको शवलाई उहाँकी श्रीमतीले प्रहरीको सम्पर्कमा आएर आज पहिचान गर्नुभएको छ ।’
दुई महिनाअघि ज्याला मजदूरी गर्छु भनेर लामा काठमाडौँं हिँडेको परिवारले बताएको छ । ठक्कर दिएर भागेका चालक र गाडीलाई महानगरीय प्रहरी वृत्त बौद्धले चार दिनपछि नियन्त्रणमा लिएको थियो ।
गाडी चालक १७ वर्षीय राजकुमार पुलामी मगर रहेको प्रहरीले जनाएको छ । गाडी चालकमाथि सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।