देउवाले विश्वासको मत पाउन निश्चित, कति आउला भोट ?

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत पाउने निश्चित भएको छ ।

संसदमा विश्वासको मत पारित हुन आवश्यक संख्या सुनिश्चित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नै विश्वासको मतको प्रस्ताव पेश गर्ने भएको स्रोतले बतायो ।

जनता समाजवादी पार्टीका ३२ मध्ये कम्तीमा १९ सांसदसँगै एमाले असन्तुष्ट पक्षका कम्तीमा ९ जनाले देउवालाई समूहगत रुपमा आश्वस्त गरिसकेका छन्।

योसँगै विश्वास मतका पारित हुनका लागि आवश्यक न्यूनतम १३६ को संख्या पार हुने निश्चित भएपछि संसद अधिवेशनको पहिलो दिन नै विश्वासको मत लिने निर्णय देउवाले गरेका हुन्।

एमाले भित्र समूहगत बैठकहरु भइरहेकाले विश्वास मतको पक्षमा मत दिनेहरुको संख्या निकै बढि हुने अड्कालबाजी भइरहेको छ। आफू पक्षका कम्तीमा ९ जनाले विश्वास मतको पक्षमा मत दिने एमाले सांसद विरोध खतिवडाले बताउनुभयो ।

नेपाली कांग्रेसका ६१, माओवादीका ४९, जसपाका करिब २० र जनमोर्चाका एक सांसदको समर्थन सुनिश्चित भइसकेको अवस्थामा माधव नेपाल पक्षबाट कम्तीमा ९ मत प्राप्त भएपछि विश्वासको मतको पक्षमा न्यूनतम १३६ सांसदको मत पर्ने सुनिश्चित भइसकेको हो।

स्रोतका अनुसार जनमोर्चा र स्वतन्त्र सांसदले पनि मत दिने भएपछि देउवाको पक्षमा १५० भन्दा धेरैले मत दिनसक्ने देखिएको छ । यता एमाले नेत्री रामकुमारी झाँक्री संसद जोगाउनकै निम्ती २३ सांसदले सर्वाेच्चमा हस्ताक्षर बुझाएको भन्दै देउवाको पक्षमा सकेसम्म सबै एमालेले भोट आग्रह गर्दै नभए आफूहरुले मत दिने स्पष्ट पार्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *