इजरायल रोजगारीका लागि खुला, मासिक तलब २ लाख

करिब पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी फेरि खुलेको छ। वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो ।

इजरायलले पहिलो चरणमा एक हजार कामदार लैजाने बताएको छ। जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष हुनेछन्।

इजरायलमा केयरगिभरका लागि आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै २१ दिनभित्र विभागको वेभसाइट http://ferms.dofe.gov.np मा अनलाइन आवेदन दिन सक्ने जनाएको छ।

केयरगिभरमा जानेहरुको मासिक तलब लगभग १ हजार ६ सय अमेरिकी डलर हुने विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

रोजगारीमा जाने व्यक्ति कम्तिमा १० कक्षा पास गरी अनमी वा सीएमएको कम्तिमा १५ महिनाको अध्ययन पुरा गरेका वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरेर सरकारबाट स्वीकृति प्राप्त संस्थामार्फत ३ महिनाको तालिम लिएकाहरुले पनि परीक्षामा भाग लिन पाउनेछन् । ओभर टाइम र सेवासुविधा इजरायली सरकारको नियमअनुसार हुने र हप्तामा छ दिन काम गर्नुपर्नेछ। खाने खर्च कामदार आफैँले व्यवस्था गर्नुपर्नेछ।

नेपालबाट पठाएको नामावली मध्येबाट इजरायलको पीआईबीए नाम संस्थाले छनोट गरेर पठाएका व्यक्ति र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ ।

भिसाको शुल्क रोजगारदाताले तिर्नुपर्ने छ । तर, बीमा शुल्क, हवाईभाडा, अभिमुखीकरण शुल्क र कल्याणकारी शुल्क भने श्रमिकले नै तिर्नुपर्ने व्यवस्था निर्देशिकामा छ ।