एकीकृत समाजवादीले केन्द्रीय सदस्यको टुंगो लगाउन सकेन

काठमाडौं, ७ असोज – नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सदस्यहरूको टुंगो लगाउन सकेको छैन । आकांक्षी धेरै भएपछि दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यको टुंगो लगाउन नसकेको हो ।

केन्द्रीय कमिटीलाई पूर्णता दिने र जिल्ला इन्चार्ज तोक्ने भए पनि आकांक्षी धेरै देखिएपछि टुंगो लगाउन नसकिएको एकीकृत समाजवादीले जनाएको छ ।

पहिले २५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने भने पनि अहिले आकांक्षी बढेसँगै नेकपा एकीकृत समाजवादीले संख्या बढाएर ३०१ पुर्‍याएको छ । 

पार्टीका नेताले जिल्लास्तरका नेताहरूलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गर्ने आश्वासन दिएपछि अहिले केन्द्रीय सदस्य छान्न धौधौ परेको हो । बिहीबारको बैठकमा पोलिटब्युरोको नाम सार्वजनिक गरे पनि केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरिएन । 

समाजवादीका महासचिव वेदुराम भुसालले केन्द्रीय सदस्यका लागि प्रदेशबाट नामावली आए पनि ती नामावली काटछाँट गरी केन्द्रीय सदस्य टुंग्याइने बताए । ‘हामीले केन्द्रीय कमिटी बैठकबाट नै केन्द्रीय सदस्य थप्ने तयारी गरेका थियौँ’, उनले भने, ‘केन्द्रीय सदस्यका लागि ठूलो संख्यामा नाम प्राप्त भएको छ । प्राप्त भएका नाममा अलिकति मिलाउनुपर्नेछ ।’ 

केन्द्रीय सदस्य दिलु पन्तले केन्द्रीय सदस्यका लागि धेरैको नाम आएकाले स्क्रिनिङ् गरिने बताइन् । उनले केन्द्रीय सदस्यको नामावलीको टुंगो लगाउने जिम्मा स्थायी कमिटीलाई दिएको जानकारी गराइन् । ‘केन्द्रीय सदस्यका लागि धेरैको नाम आयो । बैठकले ती कसलाई केन्द्रीय सदस्य बनाउने भन्ने टुंगो लगाउन सकेन’, उनले भनिन् ।