ब्राजिलका राष्ट्रपतिका छोरोलाई कोरोना संक्रमण

संयुक्त राष्ट्रसंघको जारी महासभामा सहभागी ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोका छोरा एडुर्डो बोल्सोनारोमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सांसदसमेत रहेका एडुर्डो न्युयोर्क गएको टोली मध्ये ब्राजिलका तेस्रो संक्रमित हुन् । यसअघि ब्राजिलका स्वास्थ्य मन्त्री मार्सेलो क्युइरोगालाई पनि गत मंगलबार संक्रमण पुष्टि भएको थियो ।  उनी अहिले न्युयोर्कमै क्वारेन्टिनमा छन् । 

क्युइरोगा अघि उनकै टोलीको एक कूटनीतिज्ञमा पनि संक्रमण देखिएको थियो । उनलाई आइसोलेसनमा राखिएको छ । हालसम्म राष्ट्रपति जैर बोल्सोनारो र अन्य प्रतिनिधिमण्डलको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ । संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य नै रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

राष्ट्रसंघको महासभामा कोभिडविरुद्धको खोप अनिवार्य भए तापनि राष्ट्रपति बोल्सोनारोले भने हालसम्म भ्याक्सिन लगाएका छैनन् । उनले आफू भ्याक्सिन लगाउने जनता मध्ये आफू ब्राजिलमा सबैभन्दा अन्तिम व्यक्ति हुने अभिव्यक्ति दिँदै आएका छन् ।