माधव नेपालमाथि नेता गुरुङको टिप्पणी : ‘कुचोले बडार्नुपर्ने फोहोर हावाले बडार्‍यो’

नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) पार्टी खोलेको माधव नेपाल समूहलाई कुचोले बडार्नुपर्ने फोहोर हावाले बडारिदिएको टिप्पणी गरेका छन् । उनले विभाजनसँगै पार्टीको फोहोर सफा भएको जिकिर गरे । 

तनहुँको शुक्लागण्डकीमा भएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता गुरुङले भने, ‘एमाले विभाजन भयो भनेर हामीले दु:ख मान्नुपर्ने कुनै कारण छैन । जे हुन्छ, ठिक हुन्छ । जे घटना घट्यो, घटनाप्रति दु:ख मानेर बस्ने हैन । शक्ति बटुलेर अगाडि बढ्ने हो ।’

उनले नेकपा एमाले खहरे खोला नभएर नदी भएको उल्लेख गरे । ‘एमाले खहरे होइन्, नदी हो । नदीमा भंगालो फाट्दैमा अस्तित्व हराउँदैन्, नदी बगिरहन्छ । त्यस्तै गरेर नेकपा एमाले अगाडि बढिरहको छ, बढिरहनेछ,’ गण्डकी प्रदेशका पूर्व अर्थमन्त्रीसमेत रहेका गुरुङले भने ।

उनले केपी ओलीलाई कारण देखाएर पार्टी छोड्नु गलत भएको धारणा राखे । ‘व्यक्ति केही होइन् । तपाई हामी सबैले बनाएको पार्टी हो । व्यक्तिगत कारणले पार्टी छोड्नु हुँदैन्थ्यो,’ उनले भने । एमाले कम्युनिस्ट आन्दोलनको मुलघर बनेको नेता गुरुङको दाबी छ । 

संविधानसभा सदस्य टुकराज सिग्देलले पार्टीबाट अलग भएर माधव नेपालले पार्टीलाई भन्दा ठूलो धोका जनतालाई दिएको बताए । एमालेसँग एक्लै लड्न नसकेर पाँच दलको गठबन्धन बनाइएको उनको भनाइ थियो । एमालेको नेतृत्वमा मात्र राष्ट्रियता सुरक्षित हुनुका साथै सन्तुलित परराष्ट्र नीती सम्भव भएको सिग्देलको दाबी छ । 

संविधानसभा सदस्य हसिना बेगमले एमाले सरकारको पालामा विकासको जनलहर आएको बताइन् ।