लोपोन्मुख राउटेको फेरिँदो जीवनशैली, एकीकृत नीति ल्याउँदै प्रदेश सरकार

जंगलमा फिरन्ते जीवन बिताउँदै आएका नेपालका घुमन्ते जातिमध्येको एक राउटे समुदाय पनि हो । यो समुदाय पश्चिम नेपालका कर्णाली र आसपासका विभिन्न जंगलहरूमा बसोबास गर्ने गर्छन् । 

कुनै बेला घुमन्ते फिरन्ते जीवन बिताउँदै आफूले बनाएका काठका भाँडाकुँडा गाउँघरमा अन्न चामलसँग साटेर जीविका चलाउदै आएका थिए । तर, पछिल्लोे समय उनीहरूमा भएको परिर्वतनसँगै उनीहरूको पेसा पनि संकटमा पर्दै गएको छ । 

कुुनै समय अन्य समुदायको समाजसँग त्यति नजिक नपर्ने जंगलमै फिरन्ते जीवन बिताउने राउटेहरू अहिले समाजसँग घुलमिल हुन थालेका छन् । योसँगै उनीहरूको पेसा संकटमा पर्दैै गएको छ । 

लोपोन्मुख राउटेको जनसंख्या पनि निकै न्यून छ । अहिले डेढ सयभन्दा पनि कम संख्यामा छन् । केही वर्षयता उनीहरूको जनसंख्या घट्दै गएको छ ।त्यसमाथि व्यवस्थित बसोबास नहुँदा समुदायको अस्तित्व नै जोखिममा रहँदै आएको छ । पछिल्लो समय राउटेहरू थप असुरक्षित बनेका छन ।

कुनै बेला गैर–राउटे समुदायसँग घुलमिल हुँदैनथे । काठका घरायसी सामग्री बनाउने उनीहरू अन्नसँग साट्थे । पैसा छोए पाप लाग्छ भन्थे । पैसा छुनु हुँदैन भन्ने मान्यता यो समुदायमा थियो । कन्दमुल खान्थे । जंगली जनावरको सिकार गर्थे । अरु समुदायसँग व्यापारको जस्तो मात्र सम्बन्ध रहन्थ्यो, काठका सामग्री दियो त्योबापत खाद्य वस्तु लियो ।

पैसा र आधुनिकताको मोह 

कुनै बेला राउटे समुदायको त्यति नजिक पर्दैन थिए । र, अन्य समुदायका मानिसहरू पनि राउटे भन्नेबित्तिकै बोल्ने साहस कसैको हुन्थेन । अहिले राउटे र अन्य समुदायको घुलमिल भइरहन्छ । अन्य समुदायसँगको घुलमिलले अहिले राउटे समुदायका परम्परागत मान्यताहरू भत्किँदै गएका छन् । उनीहरूमा पैसा र आधुनिकताको मोह बढेको छ । सरकारले राउटेलाई मासिक भत्ता नै उपलब्ध गराउँछ । यो समुदायमा पुग्ने जो–कोहीसँग उनीहरू पैसा माग्छन् । समुदायको रूपान्तरणका क्रममा त्यहाँ कतिपय विकृति पनि पसेका छन् ।

सबैसँगको सहज भेटघाटले गैर–राउटे समुदायका आनीबानी सरेका हुन् । आधुनिक दुनियाँमा विस्तारै बामे सर्न थालेको समुदाय केही वर्षयता मदिरालगायतका कुलत र विकृतिहरूले जेलिएको छ । सबैजसो उमेर समूहका राउटे मदिरामा लठ्ठ हुने गरेका छन् । यसले उनीहरूको अस्तित्व थप संकटमा परेको छ । राउटे समुदायको रूपान्तरणका लागि काम गर्दै आएका सरकारी तथा गैरसरकारी निकायहरूले भन्ने गरेका छन्– राउटेलाई रूपान्तरण गर्ने नाममा झनै विकृतिहरू भित्रिए ।

सरकारी तथा गैरसरकारी निकायले राउटे समुदायको उत्थानका लागि खर्चिएको बजेटको सदुपयोग हुन नसकेको लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्का बताउँछिन । 

‘जुन उद्देश्यले यो समुदायमाथि लगानी भइहेको छ, त्यसको सदुपयोग भइरहेको छैन,’ उनले भनिन् । लामो समयदेखि यो समुदायसँग नजिक रहेर काम गर्दै आएकी खड्काले राउटेहरू थप असुरक्षित बनेकोमा चिन्ता व्यक्त गरिन् । उनका अनुसार केही वर्ष पहिलेसम्म यो समुदाय निकै शान्त थियो । आफ्नै सामाजिक मान्यताहरू थिए । जब उनीहरूको अन्य समुदायसँग आवतजावत बढेसँगै विकृतिहरू पनि भित्रिए ।

राउटे रूपान्तरण गराउने शैली नमिल्दा झनै संकट 

यो समुदायको उत्थानका क्षेत्रमा काम गरिरहेका निकायको रूपान्तरण गराउने शैली नमिल्दा पनि समुदाय नै झनै जटिल अवस्थामा पुगेको अधिकारकर्मीहरूले बताउँदै आएका छन । गलत संस्कार र आनिबानी सुधार्न तथा अरु जस्तै आधुनिकतामा ल्याउने तरिका नमिल्दा समस्या भइरहेको उनीहरूको भनाइ छ ।
अहिले राउटे समुदायको परम्परागत पेसा पनि संकटमा छ । नयाँ पुस्तामा पुख्र्यौली पेसाको मोह हराएको छ ।

काठका सामग्री बनाउने सीप हराउँदै गएको छ । युवाहरूमा यो पेसाप्रति रूचि घट्दो छ । त्यसले गर्दा जीविकोपार्जनमा समेत समस्या आउन थालेको छ । मागेर छाक टार्नु उनीहरूका लागि बाध्यता बन्न थालेको हो । शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा छन् । राउटे समुदायको संख्या घट्दै जानुमा उनीहरूको जीवनशैली प्रमुख कारण हो । आफ्नो स्वास्थ्यप्रति समुदायका मानिसहरू सचेत छैनन् । उनीहरूलाई आधुनिक उपचार पद्धतिमा विश्वास छैन् ।
खासगरी राउटे समुदाय कर्णाली प्रदेश र आसपासका जंगलमा फिरन्ते जीवन बिताउँदै आएको आएको लोपोउन्मुख जाति हो ।

अहिले उनीहरू सल्यानको बनगाडकुपिण्डे नगरपालिका–१ स्थित घाटगाउँमा बसाइ सरेका छन् । बसाइ र खानपान व्यवस्थित नभएकाले राउटेको स्वास्थ्य नाजुक छ । बालबालिकादेखि वृद्धवृद्धासम्म कुपोषित छन् । अनेक दीर्घ रोगले समुदाय ग्रसित छ । एक सय ४६ घरधुरी रहेका राउटे समुदायको संख्या हाल एक सय ३९ जना मात्र छ । गएको चैतयता मात्र यो समुदायका सात जनाको मृत्यु भएको छ ।

खानपिनको शैली पनि बदलियो 

राउटेमा अचेल खानपिनको शैली बदलिएको छ । तर, स्वास्थ्यमा असर गर्ने खानपानमा उनीहरू आकर्षित छन । मदिराको कुलत र सहरिया खानपिनमा रूचि बढ्यो । त्यसले पनि राउटेको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको हो । राउटे समुदायको जनसंख्या बर्सेनि घट्दै गएकाले उनीहरूको अस्तित्व नै संकटमा पर्ने खतरा रहेको कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्का बताउँछिन् । उनले राउटे समुदायका रीतिरिवाज र मूल्यमान्यताको संरक्षण गर्दै उनीहरूलाई आधुनिकतातर्फ लैजानुपर्ने जनाइन् । 

‘मान्दै आएका चालचलनलाई पनि जगेर्ना गर्नुपर्छ । आजको परिवेशमा कोही पनि शिक्षा, स्वास्थ्य र सुरक्षित बसोबासबिना सुरक्षित बन्न सक्दैन,’ प्रदेशसभा सदस्य खड्काले भनिन, ‘यो समुदायको संरक्षणका नाममा भइरहेका विकृति रोक्न पनि जरुरी छ ।’

एकीकृत नीति ल्याउने प्रदेश सरकारको तयारी

राउटे समुदायलाई जोगाउन कर्णाली प्रदेश सरकारले संरक्षण गर्ने एकीकृत नीति ल्याउने तयारी गरेको छ । सामाजिकीकरण गर्दै मूल प्रवाहीकरणमा ल्याउन प्रदेशको सामाजिक विकास मन्त्रालयले नीतिको मस्यौदा तयार पारेको हो । उक्त प्रस्तावित नीतिमा स्थायी बसोबासदेखि नागरिकता प्रदान गर्नेसम्मका कार्यक्रमहरू समावेश गरिएका छन् ।

जातीय र मौलिकताको संरक्षण गरिने, स्थायी बस्ती, बाह्य समुदायबाट हुने नोक्सानी र हिंसाजन्य जोखिमबाट जोगाउने लगायतका विषय नीतिको ड्राफ्टमा समेटिएको छ ।

लोपोन्मुख राउटे समुदायलाई राज्यको मूल प्रवाहीकरणमा ल्याउन आवश्यक देखिएकाले एकीकृत नीति निर्माण थालिएको मन्त्रालयले जनाएको छ । सो नीतिको मस्यौदाबारे अहिले सरोकारवाला निकायसँग छलफल थालिएको छ । प्रदेश सरकारले ल्याउन थालेको नीति लागू हुन सके राउटे समुदायको संरक्षणसँगै रूपान्तरणमा ठूलो टेवा पुग्ने सरकारी अधिकारीहरूको भनाइ छ ।