सर्लाहीमा एक पुरुष र शिशुको बेवारिसे शव फेला

जिल्ला सदरमुकाम मलंगवामा सडेको अवस्थामा एक पुरुषको बेवारिसे शव फेला परेको छ । 

शनिबार मलंगवा नगरपालिका–७, गणेसियास्थित नहरमा सडेको अवस्थामा अन्दाजी ३५/४० बर्षजस्तो देखिने एक पुरुषको शव फेला परेको हो । शव पहिचानको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । लामो समयदेखि पानी नबगेको उक्त नहरमा बर्षातको जमेको पानीमा उम्रिएको जलकुम्भीभित्र शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक कृष्ण गिरिले जानकारी दिए । 

शव दुई दिनभन्दा पहिला देखि नै पानीमा डुबेको र जलकुम्भीले छोपेर राखेकोजस्तो देखिएको प्रत्यक्षदर्शीको भनाइ छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको प्रहरी स्रोले जनाएको छ । पानीमा डुबेको अवस्थामा फेला परेको शव परीक्षणको लागि जिल्ला अस्पतालमा राखिएको छ । 

यसैबीच जिल्लाको मलंगवास्थित एक पोखरीमा नवजात शिशुको बेवारिसे शव फेला परेकोे छ । 

मलंगवा नगरपालिका–७, स्थित पल्सी जाने सडक नजिकै रहेको एक निजी पोखरीमा अन्दाजी ७ महिनाको शिशुको शव फेला परेको हो । उक्त शिशुको शव फेला परेको विषयमासमेत अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक गिरीले जानकारी दिए । शिशुको शव परीक्षणको लागि जिल्ला अस्पताल पुर्‍याइएको छ ।