सामाजिक सञ्जालबाट ठगी गर्ने व्यक्ति पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुरले सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने एक युवकलाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल प्रयोग गरी सर्वसाधारणको ६ लाख बढी रकम ठगी गरेर उदयपुरमा लुकिछिपी बस्दै आएका सिराहाको सिराहा नगरपालिका–८ का २९ वर्षीय सरोजकुमार दासलाई पक्राउ गरेको प्रहरीले नजाएको छ ।

उनले भाग्यशाली चिठ्ठा परेको भन्दै सर्वसाधारणलाई भाइवर, इमो र ह्वास्ट एपलगायत सामाजिक सञ्जालबाट झुक्याएर पैसा असुल गर्दै आएका थिए ।

उनले विभिन्न व्यक्तिलाई उनीहरूको नाममा ‘लट्री’ परेको र सो रकम प्राप्त गर्नका लागि केही प्रतिशत कर बापतको रकम भुक्तान गर्न आवश्यक पर्ने भन्दै रकम असुल्दै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

उनले सामाजिक सञ्जाल दुरुपयोग गरी ६ लाख, १ हजार ४९ रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानले देखाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पर्सा प्रहरीलाई बुझाएको छ ।