एमाले विधान महाधिवेशनमा पाँच हजार प्रतिनिधि सहभागी हुने

नेकपा एमालेले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाएको छ । यसअघि तीन हजार प्रतिनिधि र मनोनीत १० प्रतिशत गरी करिब तीन हजार ५०० जना प्रतिनिधि हुने भनिएकामा केन्द्रीय कमिटी बैठकले पाँच हजार प्रतिनिधि सहभागी हुने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । 

उनले महाधिवेशनमा प्रवास कमिटी पनिआउने बताए । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको नामावली भने अझै नआइसकेको उनको भनाइ छ ।

केन्द्रीय कमिटीका सबै, केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्यहरू, केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मंचका सबै पदाधिकारी र सदस्य, प्रदेशका कमिटीका सबै सदस्य, प्रत्येक केन्द्रीय विभागबाट सचिवसहित पाँच जना, प्रत्येक जनवर्गीय संगठनका पदाधिकारीसहित १० जना, जिल्ला कमिटीका पदाधिकारी, प्रत्येक जिल्लामा रहेका निर्वाचन क्षेत्रबाट एक जना अनिवार्य गरी दुई जनाले र प्रत्येक जिल्लाबाट दलित सदस्यले भाग लिनेछन् ।

यस्तै, प्रतिनिधिसभाका सदस्य, राष्ट्रियसभाका सदस्य, प्रदेशसभाका सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा पालिकाका प्रमुख र उपप्रमुख पार्टीका सदस्य रहेकाले पनि भाग लिन पाउने उनले बताए ।

पार्टी एकीकरणको प्रक्रियामा सामेल भएका पार्टीका नेता तथा कार्यकर्तालाई पनि सम्मानजनक ढंगले सहभागी गराउने उनले जानकारी दिए ।

यसका अलावा १० प्रतिशत केन्द्रीय कमिटीले महाधिवेशनका लागि प्रतिनिधिको मनोनयन गर्ने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।