मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु

बैतडी पञ्चेश्वरमा मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका- ३ कुलाउबाट सोही गाउँपालिकाको आम्चोरा जाने क्रममा आइतबार दिउँसो २:३० बजेतिर मोटरसाइकलबाट खसेर पञ्चेश्वर- ३ गोगनपानीकी ५० वर्षीय लक्ष्मी साउँदको मृत्यु भएको हो । 

पञ्चेश्वर गाउँपालिका- १ का वडा सदस्य परमल घटालले चलाइरहेको सु.प.प्र.०१००३ प २६६१ नम्बरको  मोटरसाइकलको पछाडि बसेकी साउँद खसेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । 

घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली खटिएको प्रवक्ता ओझाले बताए । कच्ची सडकका कारण दुर्घटना भएको अनुमान गरिए पनि यकिन कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । 

चालक वडा सदस्य भने सकुशल रहेका छन् । मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा छन् ।