बाख्रा र सुँगुर पालनबाट मालामाल गन्धमान

अहिले व्यावसायिक रूपमा खेती किसानीमा रम्ने रमाउने किसान कम छन् । परंपरागत खेतीपातीबाट उक्सिन सफल किसान औँलामा गन्न सकिन्छ । तिनैमध्येमा पर्छन् खोटाङको हलेसी तुवाचुङ नगरपालिका- ११ अर्खौले नवलपुरका किसान गन्धमान राई ।

उनी गाउँमै पसिना बगाएर व्यावसायिक किसानको परिचय बनाउन सफल छन् । व्यावसायिक खसी, बाख्रा तथा सुँगुर पालनबाट आउने लाखौँ रुपैयाँ आम्दानीले छोराछोरी पढाउन, घर खर्च धान्नदेखि बचत गर्न पुगेको गन्धमानले बताए । 

गन्धमानको ८५ रोपनी खेतबारी छ । पहिला त्यही खेतबारीमा धान, मकै, कोदोलगायतका अन्न उत्पादनमा जोड दिन्थे उनी । बाख्रा, सुँगुर केवल घरायसी प्रयोजनका लागि पाल्थे । तर, पशुपालनबाट आर्थिक आम्दानी लिन सकिन्छ भन्ने बुझाइपछि करिब एक दशकदेखि भने उनले व्यवस्थित गोठ बनाएर व्यावसायिक रूपमा खसी, बाख्रा पालन सुरु गरेका हुन् । हाल खसी, बाख्रा पालनबाट वार्षिक सातदेखि आठ लाख रुपैयाँ आम्दानी हुने गरेको गन्धमानले बताए । 

हाल उनको खोरमा विटल, जमुनापारि र खरी जातका गरी ४०-४५ वटा खसी, बाख्रा टुट्दैनन् । विशेषगरी उनले मासुका लागि खसी, बिउका लागि बोको र माउका लागि पाठी उत्पादन गर्दै आएका छन् । खसी बिक्रीका लागि उनी वर्सेनि काठमाडौं पुग्ने गरेका छन् । काठमाडौंमा पुर्‍याउँदा प्रतिकिलो एक हजारदेखि एक हजार १०० रुपैयाँसम्ममा बिक्री हुने भएकाले हुर्किएका खसी काठमाडौं पुर्‍याउने गरेको राईले बताए ।

कृषि कर्मबाटै उनले काठमाडौंमा घर जोडेका छन् । नजिकै आफ्नै दिदीको घर भएकाले पनि उनलाई काठमाडौंमा खसी लगेर काटेर बिक्री गर्न सजिलो छ । काठमाडौं पुग्नेबित्तिकै उनलाई ‘खसीको मासु व्यापारी’ भनेर चिन्ने गरिएको छ । उनी काठमाडौं पुग्दा खसी लिएरै पुगेको ठान्ने गरिन्छ ।

‘खसी, बाख्रालाई घाँस-पानी दिएर मात्र हुँदैन । हेरचाह, चरिचरण सबैथोकमा समय दिन सक्नुपर्छ’, राईले भने, ‘श्रम गरेअनुसार फाइदा पनि छ । वार्षिक सात-आठ लाख आम्दानी हुन्छ ।’ 

मान्छेले खाएर बचेको जुठोपुरो खुवाउनका लागि प्रायः मतवालीको घरमा एक-दुईवटा सुँगुर पाल्ने प्रचलन छ । गन्धमानले पनि त्यही गर्थे । उनले व्यावसायिक रूपमा सुँगुर पालन सुरु गरेको यसै वर्षदेखि हो । तर, सुँगुरको आम्दानीले उनलाई हौस्याएको छ । छोटो समयमै सुँगुरका पाठापाठी बिक्रीबाट सात-आठ लाख रुपैयाँ हात लागेको उनले बताए ।

बजारमा बुचो (भाले सुँगुर) प्रतिगोटा साढे आठ हजार र भुनी (पोथी सुँगुर) साढे छ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । उनले सुँगुरका पाठापाठी अर्खौलेमा लाग्ने सोमबारे र बुइपामा लाग्ने शुक्रबारे हाटमा पेरुङ्गामा हालेर लैजाने गरेका छन् । बजारमा उनले पुर्‍याएका सुँगुरका पाठापाठी लिन ग्राहकको तँछाडमछाड नै चल्ने गरेको छ ।

हाल उनको खोरमा बच्चाका लागि छवटा माउ सुँगुर र मासुका लागि तीनवटा बुचा पालिएका छन् । ३३ वटा पाठापाठी हुर्कंदै छन् । पशुपालनलाई थप व्यावसायिक बनाउनका लागि उनले केही समयअघि मात्र श्रीनवलपुर कृषि तथा पशुपन्छी फर्म दर्ता गरेका छन् । 

हाल दुई-चारवटा खसी, बाख्रा देखाएर सरकारी अनुदान लिने प्रवृत्ति बढ्दो छ । तर, व्यावसायिक रूपमा खसी, बाख्रा तथा सुँगुर पालन गरिरहेका गन्धमानले हालसम्म कतैबाट अनुदान लिएका छैनन् । अनुदानबिनै व्यावसायिक रूपमा खसी, बाख्रा र सुँगुर पालनमा जमेका छन् उनी ।

सरकारी अनुदान स्थानीय सरकार प्रमुखको राजनीतिक आस्थासँग सहमत हुनेले मात्र पाउने गरेको राईले बताए । ‘१४ घण्टा खटिएन भने कृषिको व्यावसायीकरण नारा मात्र हो । विशेष समय दिन सक्नुपर्छ । प्राविधिक ज्ञान, समय र मिहिनेत चाहिन्छ’, राईले भने, ‘यो ठाउँमा मजतिको व्यावसायिक किसान छैनन् । तर, मैले अहिलेसम्म एक पैसा अनुदान लिएको छैन । जे गरिरहेको छु, आफ्नै पौरखमा गरिरहेको छु ।’