रोमान्चक खेलमा भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियट्सले अंक बाँडे

अन्तिम बलमा कप्तान शरद भेषवाकरले छक्का प्रहार गरेसँगै निर्धारित २० ओभरकाे खेल ‘टाई’ भएपछि भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियट्सले अंक बाँडेका छन् । 

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको चौथो संस्करणको १०औँ खेलमा भैरहवा र ललितपुरले १-१ अंक बाँडेका हुन् । 

१७८ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा आएको भैरहवाले अन्तिम बलमा छक्का प्रहार गर्दै १७७ रन बनाएको थियो । 

यसपछि खेल ‘सुपर ओभर’मा पुगे पनि खराब प्रकाशका कारण सुरु हुन सकेन, जसका कारण दुवै टोलीले अंक बाढे । 

यसअघि भैरहवाले बर्षाका कारण खेल अवरुद्ध हुँदा पोखरा राइनोजसँग अंक बाँडेको थियो । 

१७८ रनका लक्ष्यसहित ब्याटिङमा आएको भैरहवाका लागि उपुल थरङ्गाले सर्वाधिक ६७ रन बनाए । श्रीलंकाली ब्याटर तथा विकेटकिपर उपुलले अविजित ४४ बलमा ६ चौका र ३ छक्का हिर्काएका थिए । यस्तै, कुशल मल्लले ३८, आरिफ शेखले २८ तथा तमिम इक्वालले १४ रन बनाए । कप्तान शरदले १ बलमा ६ रन प्रहार गरे । 

ललितपुरका रशिद खानले सर्वाधिक ३ विकेट लिए । ४ ओभर पुरा बलिङ गरेका रशिदले ३४ रन खर्चिएका थिए । यस्तै, राजन ढकालले २ विकेट लिए । उनले ४ ओभरमा १७ रन खर्चिएका थिए । 

यसअघि टस हारेर ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १७७ रन बनाएको थियो । 

कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुरका लागि सन्दुन विराक्कोडीले ५८ रन बनाए । अज्मतुल्लाह ओमारजाईले ४२ रन बनाए । यस्तै, सन्दीप जोराले ३८ रन जोड्दा ओशाडा फर्नान्डोले २० रन बनाए ।

भैरहवाका लागि अविनास बोहराले सर्वाधिक २ विकेट लिए । धम्मिका प्रसाद, कृष्ण कार्की र आरिफ शेखले समान १ विकेट लिए ।

आजै भएको पहिलो खेलमा चितवन टाइगर्सले काठमाडौं किङ्स इलेभनलाई ३ विकेटले पराजित गर्‍यो ।