बालबालिका सुधार्दै भुटानी शरणार्थी

पारिवारिक विचलन र गरिबीका कारण भुटानी शरणार्थी बालबालिका कुलतको सिकार भएका छन् । अभिभावक तेस्रो देश पुनर्वास भएका परिवारका बालबालिका लागुऔषध र कुलतमा फसेको भुटानी शरणार्थी अगुवा युवराज राई बताउँछन् ।

शिविरमा दातृ निकायले रासन उपलब्ध गराउन छाडेपछि अधिकांश गरिबीको चपेटामा छन् । यसका कारण त्यस्ता परिवारका बालबालिका कुलतको सिकारमा फसेको उनले बताए ।

‘बालबालिकाको एकदम दर्दनाक अवस्था छ’, उनले भने, ‘केहीका अभिभावक जेलमा छन् । बिछोड र पीडाले उनीहरू गलत बाटो अपनाउन बाध्य छन् ।’

भुटानी शरणार्थी शिविर र स्थानीय समुदायको बस्ती नजिकै छ । अहिले शरणार्थी र नेपाली नागरिकका छोराछोरीले पढ्ने विद्यालय एउटै छ, जसका कारण कुलतको प्रभाव समुदायसम्म परेको शरणार्थी गीता गिरी बताउँछिन् । ‘नानी-बाबुहरूलाई अभिभावकत्वको खाँचो छ । अभिभावकको साथ नपाउँदा कुलतमा फस्दै गएको हामी देख्न सक्छौँ’, उनले भनिन्, ‘शिविर-स्थानीय समुदाय त नङ र मासु जस्ता छन् । यसको असर यहाँको स्थानीय समुदायसम्म पनि परेको छ । उनीहरूलाई सुधारनका लागि चेतनामूलक कार्यक्रम आवश्यक छ ।’

बालबालिकाले गलत बाटो अपनाएको निष्कर्ष निकाल्दै फ्रेन्स क्लब बीआरसीले सुधारको काम सुरु गरेको छ । अमेरिका पुनर्वास गएका भुटानी शरणार्थी मोहन पौडेल, लोचन खतिवडा, चन्द्र उप्रेती र भुवन आचार्यको सहयोगमा बालबालिकालाई कुलतमा फस्नबाट रोक्न अभियानको सुरुवात भएको हो ।

स्थानीय समुदायका १५ र शरणार्थी समुदायका १५ गरी १८ वर्षमुनिका ३० जना बालबालिकालाई ‘काउन्सिलिङ’ गरेर कुलतमा फस्नबाट जोगाउने अभियान सुरु गरिएको फेन्स क्लबका अध्यक्ष युवराज राईले जानकारी दिए । ‘शिक्षक-विद्यार्थी’ नाम दिएको यो कार्यक्रम तीन महिनासम्म चल्नेछ ।

‘यसमा अभिभावकविहीन जो कुलतमा फस्ने संभावना हुन्छ, त्यस्तालाई छनोट गर्छौं । कतिपय कुलतमा फसिसकेका पनि हुन्छन्’, उनले भने, ‘हाम्रो उद्देश्य बालबालिका कुलतमा फस्नुहुँदैन भन्ने हो ।’

बालबालिकालाई कुलतमा फस्नबाट जोगाउन चार जना दाताको सहयोगमा छ जना शिक्षक राखिएको उनले जानकारी दिए । ‘तीन महिनासम्म चल्ने कार्यक्रममा हामी प्रत्येक महिना उत्कृष्ट तीन जना छान्छौँ । उसलाई पैसा पुरस्कार दिँदैनौँ किनकि कतिपय बालबालिकाका बुबाआमा मादक पदार्थ सेवन गर्नुहुन्छ । पैसा दिँदा सकिन्छ । उहाँहरूका लागि जीविकोपार्जनमा सहयोग गर्ने पुरस्कार दिन्छौँ’, राईले भने, ‘अन्तिममा तीन जना उत्कृष्ट छान्छौँ । उनीहरू विद्यालय पढ्छन् भने छात्रवृत्ति दिन्छौँ । पढ्न रुचि नै नराख्ने छन् भने जीविकोपार्जनमा सहयोग गर्छौं ।’

उनले विगतदेखि नै स्थानीय समुदाय र भुटानी शरणार्थीबीच सुमधुर सम्बन्ध भएका कारण जुनै कार्यक्रममा पनि स्थानीय समुदायलाई जोड्ने बताए । ‘हामीबीच एकदमै सुमधुर सम्बन्ध छ । अप्ठ्यारो पर्दा यहाँका स्थानीयले धेरै सहयोग गर्नुभएको छ’, उनी भन्छन्, ‘हामी हरेक कार्यक्रममा स्थानीय समुदायलाई जोड्छौँ ।’

उनले यो कार्यक्रम सफल भएमा बालबालिका लक्षित अन्य कार्यक्रम पनि संचालन हुने बताए । यस कार्यक्रमलाई सहयोग गर्ने चार जना दाता अन्य कार्यक्रमका लागि पनि सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।