युवा नेता नवीन राईले गरे नेपाली काँग्रेसको केन्द्रीय सदस्य उम्मेद्वारी

काठमाडौं । नेपाली काँग्रेसको यही २४ मंसिरबाट शुरू हुन गइरहेको १४ औ महाधिवेशनमा युवा नेता नवीन राईले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।

ओखलढुंगा जिल्ला चिशंखुगढी ८ का स्थायी बासिन्दा रहेका उनले हालसम्म पार्टी र समाजका विभिन्न तह र तप्कामा रहेर काम गरेको अनुभवसँगै केन्द्रीय राजनीतिमा पाइला चाल्न लागेका हुन् । १२ औं महाधिवेशनमा नेपाली काङ्ग्रेस ओखलढुंगा क्षेत्र नं. १ का क्षेत्रीय सचिवको रुपमा काम गरेका उनले नेपाली विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष भएर काम गरिसकेका छन् ।

१४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका उनी त्रि–चन्द्र क्याम्पसबाट राजनीतिशास्त्र र सामाजिक शास्त्रमा स्नातक गरेका छन् । आदिबासी जनजातिको तर्फबाट नेपाली काङ्ग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका उनले अब नेपालको राजनीति युवाहरुको हातमा हुनुपर्नेमा जोड दिए । पहिलो पुस्ताका नेताहरुबाट जनताले आशा गरेजस्तो प्रतिफल आउन नसकेको भन्दै अब युवाहरु एकजुट भएर देश अघि बढाउनुपर्ने सोँच रहेको बताए ।

उनले अब सक्रिय रुपमा केन्द्रीय राजनीतिमा लाग्ने भन्दै देश परिवर्तनको निम्ती हातेमालो गर्ने संकल्प लिएको बताए । आफूले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएको भन्दै उनले सबै मतदाताहरुलाई मतदान गरेर साथ दिन समेत आग्रह गरेका छन् ।