राजमार्ग अवरुद्ध गर्ने सिके राउतका पाँच कार्यकर्ता प्रहरीको गोली लागेर घाइते

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेपछि प्रहरीले रबरको गोली चलाउँदा जनमत पार्टीका पाँचजना कार्यकर्ता घाइते भएका छन् ।

घाइते हुनेमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र सञ्जय साह छन् । जनकपुरस्थित प्रादेशिक अस्पतालमा उनीहरूको उपचारभइरहको छ । दुईजनाको गम्भीर र तीनजनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

राजमार्ग अवरुद्ध गरेकाले गोली चलाउनुपरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए । उनले भने, ‘राजमार्ग अवरुद्ध गर्न पाइँदैन । उनीहरूले राजमार्ग अवरुद्ध गरेर उदण्डता प्रदर्शन गरेकाले प्रहरी रबरको गोली चलाउन बाध्य भयो ।’ स्थिति नियन्त्रणमा लिन ११ राउन्ड रबरको गोली र १६ राउन्ड अश्रुग्यास प्रहार गरिएको बस्नेतले बताए ।