गुल्मी, ०३ साउन /
गुल्मीमा पहिरोका कारण २५० घर विस्थापित भएका छन् । मानविय क्षति सँगै भौतिक रुपमा करोडौंको क्षति भएको छ । गत असार १८ गते देखी परेको अविरल बर्षाको कारण जिल्लाको ईस्मा गाउँपालिका र मुसिकोट नगरपालिकामा मध्यराती गएको पहिरोबाट मानविय क्षति सँगै भौतिक रुपमा करोडौंको क्षति भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
“पहिरोका कारण दुई जनाको मृत्यु भएको, घाइते पाँच जनालाई उपचारको लागि काठमाडौँ लगिएको, एक जना जिल्ला अस्पत्ताल तम्घासमा उपचार कै क्रममा रहेको, वेपत्ता एक जनाको खोजी कार्य जारी रहेको, २५० घर विस्थापित भएको, दुई विद्यालय, एक स्वास्थ्यचौकी, आठ सय ८२ रोपनी जग्गामा लगाइएको बालीनाली, ७० सिचाँई कुला, ६५ खानेपानी मुहान र करिब ३९० पशुपंक्षीको क्षति भएको हामीसँग प्रारम्भिक विवरणे छ ।” प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले भने ।
“जिल्लाका पहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्घारको कार्य तिव्र गतिमा भइरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । प्रभावित क्षेत्रमा जिल्लास्थित नेपाली सेना,नेपाल प्रहरी ,सशस्त्र प्रहरी बलको समूह उद्धार तथा राहतको काममा निरन्तर खटिरहेका छन् ।” प्रमुख जिल्ला अधिकारी शर्माले भने ।
विस्थापित २५० घरपरिवारलाई सुरक्षित स्थानमा स्थापित गर्ने, पहिरोका कारण भएको क्षतिको यथार्थ विवरण संकलन, पुर्नस्थापना र पुननिर्माणको काम, स्थानिय तह,कार्यालय र सुरक्षाकर्मीलाई क्रियाशिल बनाउने लगायतका विभिन्न काम निरन्तर रुपमा भइरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लामा पहिरोका कारण कालीगण्डकी गाउँपालिकामा पनि एक जनाको मृत्यु भएको छ । कुलो मर्मत गर्ने क्रममा माथिबाट खसेको पहिरोको ढिस्कोमा पुरिएर एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अन्य क्षति भने भएको थिएन ।
पहिरो प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन समिति गुल्मी, नेपाली कांग्रेस गुल्मी, नेकपा गुल्मी , नेपाली कांग्रेस गुल्मी – काठमांडौँ सम्पर्क समिति , नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मी लगायतका संस्था र व्याक्तिगत रुपमा पनि थुप्रै सहयोग भइरहेको छ ।
पहिरो प्रभावित क्षेत्रका स्थानियहरु भने आफुलाई अझैसम्म पनि व्यवस्थित गर्न नसकेको प्रति आक्रोस व्यक्त गरेका छन् । “प्रभावित क्षेत्रमा खानेपानीको समस्या, यातायात अबरुद्ध, विजुलीवत्तीको समस्या लगायतका थुप्रै समस्या छन् ।” पहिरो प्रभावित क्षेत्रका स्थानिय मुसिकोट नगरपालिका वडा नंं. ३ का गुम बहादुर विकले भने ।
पहिरो प्रभावित क्षेत्र ईस्मा गाउँपालिका र मुसिकोट नगरपालिकामा जिल्ला विपद् व्यवस्थापन समिति,गुल्मीको निर्णयबमोजिम एक द्धार प्रणालीबाट राहत समाग्रीहरु वितरण भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
गुल्मी पहिरो : २५० घर विस्थापित, करोडौंको क्षति, राहत वितरण जारी
- सिम्रिक खबर
- • ६ महिना अगाडि