६ साउन, काठमाण्डौ। सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको जोगीडाब्रेमा स्थापना गरिएको सशस्त्र प्रहरीको ३६ नं गण अहिलेसम्म आफ्नो भवन नहुँदा शिक्षक तालिम केन्द्रमा बस्दै आएको छ । स्थापना भएको तीन वर्ष बितिसक्दासमेत आफ्नो भवन नहुँदा निकै समस्या हुँदै आएको गणले जनाएको छ ।
भवन त परै जाओस् गण निर्माणका लागि जग्गासमेत खरिद नगरिएका कारण समस्या उत्पन्न हुन थालेको छ । उक्त गण स्थापनाका लागि तीन वर्ष पहिले दिपायल सिलगढी नगरपालिका–४ जोगीडाब्रेमा रहेको शिक्षक तालिम केन्द्रका भवनहरु दिइएपछि अहिले सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि आउने शिक्षकलाई बास बस्नका लागि समेत समस्या हुँदै आएको शिक्षक तालिम केन्द्र जोगीडाब्रेले जनाएको छ ।
स्थापना गरिएको तीन वर्ष बितिसक्दा समेत आफूहरुका आफ्नो भवन नभएका कारण शिक्षक तालिम केन्द्रले अस्थायीरूपमा प्रदान गरेको आवासगृहमा बस्दै आएको सशस्त्र प्रहरी बल ३६ नं गण हेडक्र्वाटर डोटीका सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले बताए ।“हामीसँग जग्गा पनि छैन, भवन पनि नभएकाले शिक्षक तालिम केन्द्रमा बस्दै आएका छौँ’, उनले भने ‘कुन दिन उहाँहरुले छोड्नु भनेपछि कहाँ जाने समस्या हुनेछ ।” यहाँको दिपायल सिलगढी नगरपालिकालाई जग्गाका लागि अनुरोध गरिएको भए पनि हालसम्म जग्गा खरिद गर्न नसकिएका कारण झनै समस्या भएको सशस्त्र प्रहरीले जनाएको छ ।
गण स्थापनाका लागि आवश्यक पर्ने कम्तीमा १५ देखि २० रोपनी जमीन उपयुक्त ठाउँमा नपाइएका कारण जग्गा खरिद गर्न नसकिएको नगरपालिकाका निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङले बताए । “सशस्त्र प्रहरीको गण स्थापनाका लागि हामीले जग्गा खरिद प्रक्रियाको थालनी गरेका छौँ’, उनले भने ‘उपयुक्त ठाउँमा जमीन नपाएकाले समस्या भएको हो, जग्गा खोजीकार्य हुँदैछ ।”
विसं २०७५ मा स्थापना भएको उक्त गणमा कूल दरबन्दी ८०० देखि ९०० जनासम्म कायम भए पनि ठाउँ अभावका कारण कतिपय सशस्त्र प्रहरी कैलालीमा रहेको सशस्त्र प्रहरीको नं ५ बाहिनी तथा गणमा एटेचमा कार्यरत रहेको बताइएको छ ।
जिल्ला विपद् प्रतिकार्यदेखि शान्ति सुरक्षाका काममा सशस्त्र प्रहरी खटिँदै आए पनि आफ्नो भवन नहुँदा उनीहरुलाई दैनिक कार्यसम्पादनमा समस्या हुँदै आएको बताइएको छ । यतिमात्र नभई गणको आफ्नो भवन नभएका कारण गणले सशस्त्र प्रहरीका लागि सञ्चालन गर्ने आन्तरिक तालिमदेखि अन्य पिटी, परेडसम्म गर्न समस्या भएको गणपति बुढामगरले बताए ।“गणमा विभिन्न खाले तालिम खुल्छन्, हामीसँग ती तालिम गर्नका लागि आफ्नो भवन छैन’, उनले भने ”संरचना निर्माण गर्दा छाडेर जानेबेला झन् समस्या हुने भएकाले तालिम सञ्चालनमा समस्या भएको छ ।”
हाल गण स्थापना भएको शिक्षक तालिम केन्द्र नजिकै प्रविधिक शिक्षा पढाउन विद्यार्थीका लागि स्थापना गरिएको सेती प्राविधिक शिक्षालय दिपायल रहेकाले गणमा आन्तरिक तालिम सञ्चालन गरे उनीहरुको पढाइमा बाधा उत्पन्न हुने अवस्था रहेको नगरपालिका–४ का वडाध्यक्ष वीरेन्द्र शाहले बताए । “गण नजिकै प्राविधिक शिक्षालय छ, त्यहाँ तालिम गर्दा विद्यार्थीको पढाइमा समस्या हुने देखिएको छ’, उनले भने ‘गणलाई उपयुक्त ठाउँमा जग्गा खरिद गरी सार्नुपर्ने भएको छ ।”
आफ्नै भवन नहुँदा वर्षौँदेखि शिक्षक तालिम केन्द्रमा सशस्त्र प्रहरी
- सिम्रिक खबर
- • ६ महिना अगाडि