८ मंसिर,काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेपछि महासचिव शंकर पोखरेलले उनीप्रति आक्रोश जनाएका छने । महासचिव पोखरेलले मेयर शाह एमालेविरुद्ध परिचालित भएको आरोप लगाएका छन् ।
शुक्रबार दरबारमार्गमा एमालेले आयोजना गरेको सभामा फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई एक लाख जरिवाना गरेपछि महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।सभा सकिएपछि फाहोर आयोजकले सफा गरिसकेपछि पनि जरिवानाको पत्र पठाउनुले मेयर बालेन एमालेविरुद्ध परिचालन भएको बुझ्न सकिने उनले दाबी गरेका छन् ।
पोखरेलले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाइ आयोजकका तर्फबाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा ।’
महानगरले जरिवाना पर्चा सार्वजनिक गरेको समयमा स्वयंमसेवकहरू कार्यक्रमस्थलमै फोहर संकलन गरेर गाडीमा राखिरहेको, मञ्च र मञ्चमा प्रयोग गरिएका सामग्री हटाउने काम भएको उनले बताएका छन् । ‘तर पनि मेयरको ध्यान सरसफाइमा नभई जरिवानाको स्टण्टबाजीमा थियो । जुन समय अगावै सार्वजनिक गरियो’, उनले लेखेका छन् ।महासचिव पोखरेलले एमालेको जागरण सभा यस प्रकारका स्टण्टबाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि भएको उल्लेख गरेका छन् ।