स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु

सेयर गर्नुहोस्

१४,मंसिर ,काठमाडौं-आगामी आइतबार हुने स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध गरिएको छ ।निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आयोगले मौन अवधि लागू गर्दछ ।

मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार प्रसार गर्न पाइँदैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न  बर्जित छ । एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट समेत मत माग्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता काम गर्न पनि नपाइने आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गरिएको पाइएमा तत्काल कानुनबमोजिम कारबाही गरी मुख्य निर्वाचन निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोगमा जानकारी गराउन आयोगले आह्वान गरेको छ ।

निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता प्रतिकूलका कुनै पनि गतिविधि नगर्नसमेत आग्रह गरेको छ ।

आगामी आइतबार ३३ जिल्लाका ४४ पदका लागि उपनिर्वाचन हुँदैछ । दुई जिल्ला समन्वय समिति प्रमुख, एक/एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो ।

मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन् । पुरुष मतदाता एक लाख १४ हजार ९००, महिला मतदाता एक लाख ११ हजार ८९६ र अन्य मतदाता ३ जना छन् ।

४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकोले ४१ पदका लागि मात्रै मतदान हुनेछ । ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेका छन् ।

यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *