२२ माघ,काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गरेका छन् ।
बालुवाटरस्थित शिवपुरी उच्च माध्यामिक विद्यालयमा आज आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिका–३ स्वस्थ्यकर्मीलाई खोपसामग्री प्रदान गरेर अभियानको शुभारम्भ गरेका हुन् ।
किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुदैं छ । खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप लगाइने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सर ह्युमनपापिलोमा भाइरस संक्रमणले हुन्छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ । मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले क्यान्सर निवारणका लागि धेरै काम गर्न बाँकी रहेको बताएका छन । खास गरी उपचारात्मक क्षेत्रमा र निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी रहेको मन्त्री पौडौलले बताए ।
मन्त्री पौडेलले काम गर्ने चाहना भए पनि आवश्यक श्रोत, साधनको कमी रहेको भन्दै सहकार्य गरेको खण्डमा क्यान्सर न्यूनीकरण गर्न सकिने उल्लेख गरे ।