हामिले पिउने चियाको चिरफार

नेपालमा चियाको चलन करिब १६० वर्ष पहिले बेलायती गोर्खा सैनिकले भित्र्याएको अनुमान गरिन्छ ।

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 33
  •  
  •  
  •  
  •  
    33
    Shares

एक दिन बागलुङबाट रात्रिबसमा बुटवलतर्फ जानुपर्ने मेलोमेसो जुर्छ । रातको करिब २ः०० बजेतिर हाम्रो गाडी एउटा स्टपमा रोकिएछ । म ओर्लन नपाउँदै मेरो कानमा केही शब्दहरू ठोक्किन आइपुगे, “ल, आउनोस्, आउनोस्, लालप्याली च्या खानुहोस्” । चकमन्न रातको बेला फेरि अर्को आवाज गुन्जियो, “ल, आउनोस्, झानेको चिया खानुहोस् ।” कोही विज्ञापन गरिरहेछन्, “मसला राखेको चिया, मसला राखेको चिया”, त्यस्तै कोही अझ नयाँ नौला नामबाट भट्ट्याइरहेछन्, “ल है आयो, नयाँ नौलो चिया – साहिँली माहिली चिया ।”

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

आधा रातको समय, जाडोको बेला, आफ्नो स्वादअनुसारको चिया लिएँ, ताजापन जगाएँ । यो कुन ठाउँ रहेछ त भनी बुझ्नका लागि यताउता टहलिएँ । रहेछ यो नवलपरासीको कावासोतीमा स्थापित रिफ्रेश सेन्टर । चियासम्बन्धमा सुनिएको थरिथरिको नामले मलाई लेख्नका लागि एउटा मसला मिलेको अनुभूति भयो । तिनै घटनाक्रमलाई टपक्क टिप्दै म केही लेख्न भनी तम्सिएँ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

लेखकः महेशचन्द्र प्रधान

लेख्न बसेँ । कहाँबाट सुरू गर्ने ? प्राप्त मसलालाई कसरी मिलाउने ? कसरी स्वादिलो बनाउने ? म चिन्तित भएँ । वास्तवमा पठन जति सजिलो छ, भाषण गर्नु त्योभन्दा गाह्रो छ र लेखन त झनै कठिन छ । झ्वाट्ट यो अङ्ग्रेजी निबन्धकार फ्रेन्सिस बेकनको भनाइ सम्झिएपछि मलाई मेरो अन्तस्करणले हाम्रो जीवनको अत्यन्त लोकप्रिय पेय चियाबारे केही न केही त लेख्नैपर्छ भनी घच्घच्याइरहेको अनुभूति भयो । तब म आप्ना इष्टमित्र, छरछिमेक, अग्रज, दाजुभाइ, दिदीबहिनी, साथीभाइसँग र विभिन्न पुस्तक, इन्टरनेटमा समेत सोधखोज गरी बुझ्न उद्दत भएँ । नयाँ पिँढीका मानिसहरूले पुरानो पिँढीका कुरालाई उडाउँदै भन्ने गरेको सुनिन्छ – ‘उहिलेका कुरा खुइले ।’ तर कता कता उहिलेका कुरा खुइले होइन, उहिलेका कुरा गुनिले, बुझिले, गमिले भन्नुपर्ने हो कि भन्ने घटनासमेत तरोताजा बनी मेरा मथिङ्गलमा नाच्न थाले आधा दशकअघि सुनेका कुराहरु ।

करिब डेढ सकय वर्षअघि नेपालमा चियाको प्रयोग थिएन नै भन्दा पनि हुन्छ । तर पहाडी घरगाउँमा खर्सुको चिया र हिमाली क्षेत्रका बस्तीमा ढुङ्ग्रोमा पारेको चिया पिउने चलन भने शारीरिक स्वास्थ्य र हिमाली जाडो भगाउनका लागि बेलाबखत प्रयोग हुने गर्दथ्यो । आजभोलि हरेक शहर, हरेक बजार, हरेक गाउँँ, टोल, बस्ती र घरहरूमा चिया अत्यन्त प्रचलित पेय पदार्थ बनेको छ । अझ भनौं, कसैको घरमा पाहुनापासा पर्दा चियासेवा स्वागत सत्कारको एक सभ्य परिचायक मानिन्छ । त्यसो त कुनै बेला उच्च पहाडी भूभाग र हिमाली क्षेत्रमा पाहुनाहरूलाई कतै वाष्पीकरण गरी तयार पारिएको सोम रस (राष्ट्रिय झोल ?) ले र कतै तोङ्बाले स्वागत गर्ने प्रचलन पनि रहेकै छ, जसरी पश्चिमी विकसित मुलुकहरूमा परपाहुनालाई बियरले स्वागत गर्ने गरेको सुनिन्छ । यो सोम रस लाग्ने पेय भएतापनि चिसो ठण्डी लाग्ने हिमाली र उच्च पहाडी प्रदेशहरूमा चिसोपनसँग लड्ने शक्ति जगाउने दृष्टिबाट यसको प्रयोग प्रचलनमा आएको पो हो कि ? त्यस्तै कतै कतै छ्याङ्ले सत्कार गर्ने गरेको पनि पाइन्छ । ब्राम्हण समाजमा भने पाहुनाहरूको स्वागत मूलतः दूध, दही, मोहीबाट गर्ने गरेको पाइन्छ । तर अचेल भने प्रायः सबैले चियाले नै सम्मान सत्कार गर्न थालेका छन् ।

चियाको चर्चा गर्न तम्सिँदा विभिन्न किसिमको चिया पिउने गरेको र फर्मायस हुने गरेको यथार्थ हाम्रो आँखाअगाडि नाच्न थाल्दछ । तर हाम्रो जीवनचर्यामा यति विघ्न जरा गाडेको यो पेयको आविष्कार कहिले भयो, कहाँ भयो, कसले गरेको हो र यसले विश्वको हर क्षेत्रमा कसरी व्यापकता पाउन सक्या होला त भन्ने बारेमा हामीले कमै आँकलन गरेका हौंला । चियाको इतिहासभित्र खोजी पस्दा एउटा जनश्रुति पाइन्छ, आजभन्दा करिब ५००० वर्षअघि ईशापूर्व २७३७ बीसीमा तत्कालीन बादशाह शेननङ, जो एक वैज्ञानिक तथा विद्वान् व्यक्ति पनि थिए, उमालेको पानी पिउने गरेमा स्वास्थ्यका लागि धेरै फाइदा गर्ने विश्वास गर्दथे । एकपटक उनी आफ्ना भाइभारदार र नोकरचाकरका साथ आफ्नो  देशको सुदूर पश्चिमतर्फको भ्रमणमा निक्लँदा बीच बाटोमा पर्ने एउटा जङ्गलनजिकै बस्नुपर्ने अवस्था आयो ।

उम्लेको पानी पिउने उनको बानीसँग परिचित उनका नोकरले उनका लागि उमालिदिएको पानीमा नजिकैको झाडीको एउटा बोटको सुकेको पात पर्न जाँदा त्यो पानीको रङ हल्का रातो रातो देखियो । उनले त्यो पात मिसिंदा उत्पन्न भएको रङगीनपनाको कुनै परवाह नगरी त्यो पानीलाई सहजतापूर्वक प्रकृतिको उपहारका रूपमा ग्रहण गरे र थोरै चाखी हेरे । थकानका कारण आराम लिन भनी बसेको त्यो ठाउँमा त्यो पातको मिश्रणबाट पैदा भएको रङगीन पानी पिइसकेपछि उनलाई अघिपछि पिउने गरेको उमालेको पानीबाट भन्दा केही बढी  इसफुर्ती  प्राप्त भएको महसुस भयो । यसपछि चीनमा यो पात चियाका रूपमा प्रचलित भएको जनबोली रहने गरेको छ र यसैलाई चियाको आविष्कारको पृष्ठभूमिका रूपमा स्वीकारिएको किंवदन्ति छ ।

तर चियाका प्रसिद्ध मास्टरमाइन्ड मानिएका नवौं शताब्दिका विद्वान् लेखक लु यूको विचार यो जनश्रुतिभन्दा फरक रहेको छ । उनको तर्क यस्तो छ, परापूर्वकालमा चीनमा शेननङ नामको खेतीपाती कार्यमा संलग्न एक आदिम कविला रहने गर्दथ्यो । तर शेननङ नामको कुनै बादशाह वा राजा रहेको थाहा छैन । सम्भवतः नाम नखुलेका शेननङ कविलाका सो समयका नाइके-प्रमुखले आफ्ना कविलालाई शिकारी अवस्था र माछापालन व्यवसायबाट कृषि व्यवसायतर्फ लाइजन  लागि विभिन्न कृषि औजारहरू तयार पार्ने र बाली लगाउने विधि प्रयोगमा ल्याउन निकै निपुण रहेका उनले वनजङ्गलमा उपलब्ध विभिन्न जडिबुटीसम्बन्धमा पनि यथेष्ट ज्ञान भएको कारण तत्कालीन कविलाका सदस्यहरू विरामी हुँदा औषधीमूलो गर्दै गर्दा प्राप्त अनुभवहरूलाई “बेन काओ जिङ (Ben Cao Jing – the Materia Medica of Shen Nong)” भन्ने पुस्तकमा सङ्ग्रह गरेकाले उनलाई “चियाका पिता”  का रूपमा स्थापित गरिएको हुनसक्ने अडकल काटिएको पनि पाइन्छ ।

चियाको प्रयोगबारे चीनमा अर्को चर्चा पनि रहने गरेको छ । कुनै समयमा त्यहाँ दुईजना जुम्ल्याहा दाजुभाइले देशको कानुनमा खलल पु-याएकाले तिनलाई मृत्युदण्ड दिने घोषणा भएको थियो । त्यति नै बेला चीनमा एउटा विवाद चलेको थियो कि चिया र कफी पिउन योग्य पदार्थ हुन् कि विष हुन् भन्नेबारे । तत्कालीन बादशाहले चिया र कफी पिउन योग्य पेय हुन् वा होइनन् भन्ने कुराको व्यावहारिक समाधान पहिल्याउन बन्दी जीवन बिताइरहेका ती दुई भाइमाथि प्रयोग गर्ने सोच बनाए । एक भाइलाई हरेक दिन ३ कप चिया र अर्को भाइलाई हरेक दिन ३ कप कफी निरन्तर पिउन लगाउँदा ती दुई भाइमध्ये एक भाइ ८६ वर्षसम्म र अर्का भाइ ८३ वर्षसम्म बाँचे । यो प्रयोगपश्चात् चीनमा चिया र कफी पिउनलायकका पेय रहेछन् भन्ने तथ्य प्रमाणित भयो र चिनियाँहरू सहज रूपमा चिया र कफी पिउन उत्साही हुन थाले । यसरी यी पेय पदार्थ एक कान दुई कान मैदान भने झैँ क्रमिक रूपमा विश्वभरि फैलिँदै गयो भन्ने विश्वास पनि पाइन्छ । हालसम्म प्राप्त जानकारीअनुसार चियाको सुरूवात चीनमा आजभन्दा करिब ५००० वर्षअघि भएतापनि नेपालमा भने केवल १६० वर्षअघि (सन् १८७३) र भारतमा सोभन्दा १० वर्षअघि (सन् १८६३) मा मात्र यो चर्चित पेयले प्रवेश पाएको देखिन्छ ।

विश्वका विभिन्न भूभागमा चियाका विभिन्न प्रकारहरू प्रचलनमा छन् । नेपालमा उत्पादन गरिने चिया दार्जिलिङको जस्तो देखिएता पनि चियाका उत्पादक, पारखी र विदेशी चिया प्रेमीहरू समेतको भनाइमा यहाँको गुणस्तर अझ राम्रो छ । नेपालमा उत्पादन हुने यस्ता गुणस्तरीय चियालाई अर्थोडक्स चिया र सीटीसी (Crush tear curl) चिया भनिन्छ । यसबाहेक यहाँ ग्रीन टी, ऊलङ टी, व्हाइट टी र ह्यान्ड रोल्ड टी पनि उत्पादन हुन्छ । नेपालको अर्थोडक्स र सीटीसी चियाको भारत, पाकिस्तान, अष्ट्रेलिया, जर्मनी, फ्रान्स, पोल्याण्ड, नेदरल्याण्ड्स्, जापान, अष्ट्रिया, हङकङ र अमेरिकालगायतका देशहरूमा निर्यात हुने गर्दछ । यसले सम्बन्धित क्षेत्रका कतिपय नेपालीलाई रोजगारीको अवसर प्रदान गरी देशको गरिबी निवारणमा पनि महत्वपूर्ण योगदान गरेको छ भन्दा अत्युक्ति नहोला । तर यहाँ उत्पादन हुने गुणस्तरीय चियाको मात्रा विश्वको मागअनुसार नभइदिंदा नेपालमा यो व्यवसायको अपेक्षाकृत सन्तोषजनक प्रगति भने हुन सकेको छैन ।

हाम्रो घर–घरमा व्यापक प्रयोग हुने चियाका प्रकारबारे चर्चा गर्नुपर्दा धेरै किसिमका चिया लामबद्ध रूपमा अगाडि आउँछन् – सेतो चिया, अर्थोडक्स चिया, सीटीसी चिया, दूध चिया, कालो-रातो चिया, नून चिया, ग्रीन टी, हर्बल टी, तुल्सी चिया, हनी टी, कागती चिया, मकैको चिया – मृगौलाको पत्थरी हुँदा यसको सेवनले फाइदा गर्ने विश्वास रहेको (सरोजराज पन्तसँगको कुराकानीका आधारमा) , खर्सु खोटी (खर्सङ खोटी पनि भनिने) को चिया, सुगरफ्री चिया, मसालेदार चिया, चौंरीको घ्यू वा दूधको तर ढुङ्ग्रोमा राखी नून मिलाई फिटेको चिया, काली काफलको बोक्राको धूलोको चिया, सौरको रुखको बोक्राको धूलोको चिया, चकलेट पाउडर मिसाएको चिया, मरिच राखेको चिया, अदुवा राखेको चिया, पुदिनाको चिया आदि ।

केही वर्ष अघिसम्म धवलागिरि अञ्चलका प्रायः सबै जिल्लामा खर्सुखोटीको चिया खाने चलन थियो । कम्मर दुखेको बेलामा यो चिया पिउनाले फाइदा गर्ने विश्वास गरिन्छ । यो लेखकका पिता हरिकुमार प्रधानले व्यापार व्यवसाय गर्नुहुँदा खर्सुखोटीको व्यापार गर्नुहुन्थ्यो भने गाउँघरतिर घुम्न जाँदा खर्सुखोटी राखेर पकाएको चिया सेवन गर्ने अवसर पटक पटक जुर्ने गरेको अनुभव यहाँ साटासाट गर्नु सान्दर्भिक ठान्दछु । यसरी नै बागलुङ जिल्लाको ग्वालिचौरतिर ज्वरो नियन्त्रण गर्नका लागि कालो काफलको बोक्राको धूलो वा सौरको  रुखको बोक्राको धूलोको चिया पिलाउने चलन पनि पाइन्छ । (कालिका सापकोटासँगको कुराकानीको आधारमा)

चियाको वास्तविक स्वादबारे देश विदेशमा आ– आफ्नै  मान्यता रहने गरेको छ । सामान्यतया पानीमा दूध, चिनी र चियापत्तीको मात्रा मिलाई चिया पिउनेहरूको सङ्ख्या हाम्रो जस्तो देशमा बढी होलान् । तर पश्चिमी मुलुकका मानिसहरू दूध चियालाई भन्दा कालो-रातो चियालाई प्राथमिकता दिने गर्दछन् । भनिन्छ, दूध चियाले ग्यास्टिक समस्यालाई निम्त्याउँदछ र त्यस्तो समस्या झेलिरहेका व्यक्तिहरूलाई दूध चियाले झन् बढी बल्झाउँछ ।

चियाको बारेमा चिरफार गर्न खोज्दा चियाका वास्तविक पारखीहरूको आफ्नै तर्क छ । उनीहरूको मतअनुसार चियाको वास्तविक स्वादसँग मित्रता गाँस्न चाहनेले चिया शुद्ध पानीमा मात्र राखेर पकाउनु पर्दछ र त्यसको स्वाद लिनु पर्दछ । तर होइन कसैले चिया पिउने नाममा चियामा दूध, चिनी राखेर पकाउने र त्यसरी विभिन्न मिश्रण मिलाइएको चिया खाने गर्दछ भने, स्पष्ट छ, उनीहरूले चिया खाइरहेका छैनन् बल्कि चियापत्तीमा दूध, चिनी वा अन्य कुनै वस्तुहरू चियामा मिलाउँदा प्राप्त हुने स्वाद वा आनन्द उपभोग गरिरहेका हुन्छन् भनी वास्तविक चियाप्रेमीहरूले दूध वा चिनी राखेको चियामा रमाउने महानुभावहरूप्रति आरोप लगाउन र व्यङ्ग्य गर्न पनि पछि पर्दैनन् । यसरी हेर्दा चियाले पाएको नाम र प्रयोगमा रहेको मिश्रणको हिसावले हाम्रो सभ्यताको परिचायकका रूपमा दर्ज भएको एक अभिन्न संस्कारको अङ्गलाई फरक नाम पो दिनुपर्ने हो कि भन्ने लाग्दछ ।

कुनै बेला अङ्ग्रेजहरूले आफ्ना सैनिकहरूलाई चियापिलाई युद्धमा पठाउने गरेकाले नै चियाले नेपालमा प्रवेश पाएको हुनुपर्ने विश्वास गरिन्छ । घर–घरमा पाक्ने चियामा परिवारजनको जिब्रो र स्वास्थ्यका कारण एकै घरमा पनि फरक फरक चिया पाक्ने गर्दछ । कतै चिनी राखिएको सेतो-दूध चिया त कतै चिनीविनाको । कतै चिनीसहितको कालो- रातो चिया त कतै चिनीबेगरको कालो चिया (वास्तविक चियाप्रेमी) । कोही कागती र चिनी मिलाएको चिया भनेपछि हुरूक्कै गर्नेहरू छन् त कोही मात्र कागती राखेको चिया पिउन रुचाउँछन् ।

परापूर्वकालमा चिनीयाँहरू चियाले मधुमेह, रूघाखोकी लाग्दा फाइदा हुने र उच्च रक्तचापका बिरामीहरूलाई समेत फाइदा पुग्ने विश्वास गर्दथे । स्वास्थ्यकै कारण कोही मानिसहरू जडिबुटी (हर्बल) चिया त कोही हनी टी, फेरि कोही तुल्सी चिया र कोही ग्रीन टीको सिफारिस र फर्मायस गर्नेहरू पनि छन् । हिमाली प्रदेशमा चौंरी गाईको दूधको तर वा घ्यूमा राखी आवश्यकताअनुसारको नूनसमेत मिलाई एउटा ढुङ्ग्रोमा फिटेर के बिहान के दिउँसो खाजाभुजाका साथ कपका कप खप्ट्याउँदै आनन्दपूर्वक पिउने र स्वस्थ रहन सकिने बलियो विश्वास गर्ने गरेको पनि पाइन्छ (मुस्ताङ जिल्लामा ) ।

चीज त उही चिया नै हो तर यसको प्रयोग हामीले तरकारीका रूपमा प्रयोग गरिने आलुलाई जस्तै विभिन्न किसिमका वस्तुसँग समायोजन गरी सेवन गरे जस्तै यो पेय पदार्थलाई पनि यत्रतत्र सर्वत्र फरक फरक ढङ्गबाट संयोजन गरी व्यवहारमा ल्याउने गरिएको छ । यात्रामा रहँदा थकान मेट्न र ताजापन महसुस गर्न होस् वा प्रतीक्षामा रहँदा पट्यारलाई टार्न होस्, साथीभाइ, नातागोता, आफन्तजनसँग भेटघाट हुँदा सबैको साझा सहमतिको विन्दु बनिदिन्छ यही चिया । यति मात्र कहाँ र ? दुई फरक विचार राख्ने व्यक्ति, दल वा झगडियाहरूलाई साझा छलफलमा पु-याउने प्रभावकारी माध्यमका रूपमा समेत यो पेयले महत्वपूर्ण मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने गरेको छ ।

चीनमा प्रकाशित पेन चाओ (Pen Tsao) नामको औषधीजन्य पुस्तकमा टाउकोमा देखा पर्ने ट्यूमर, वा कुनै खटिरा विशेष र पिसाबघरमा दुखाइ हुँदा तथा छातीमा कुनै समस्या आइलाग्दा वा कफका कारण उत्पन्न हुने ताप वा ज्वरलाई क्षीण गराउनु पर्दा पनि चियाले भलो गर्ने तथा तिर्खा मेट्न र निद्रा नियन्त्रण गर्ने तथा हृदयलाई खुसी तुल्याइराख्न पर्दा पनि चिया फाइदाजनक हुने कुरा उल्लेख गरिएको छ ।

नेपालमा सामान्य रूघाखोकी (पश्चिमाञ्चलमा) वा मर्की (पूर्वाञ्चलतिर) लाग्दा अदुवा थिचेर बनाइएको चिया लाभदायक रहने मानिन्छ र खास गरी जाडो याममा यो बढी प्रयोग हुने गर्दछ । फेरि पहाडी प्रदेशमा कालो मरिचको धूलो मिसाई बनाएको चियाले जाडो भगाउनुका साथै आजापूजा र रातिको समयमा जागराम बस्नुपर्ने काम आइलाग्दा यसले धेरै मद्दत गर्ने गर्दछ । त्यस्तै कतिपय मासिहरू चियामा दूध चिनीका साथसाथै ल्वाङ् सुकुमेल, अलैंची जस्ता मरमसला मिलाएको मसालेदार चियामा रमाउने गर्दछन् भने कताकतै चियापसलेहरू चकलेट पाउडर मिसाइएको चिया खुवाई आप्mना ग्राहकलाई प्रभावित गर्ने गरेको पनि पाइन्छ (नारायणगढतिर) । कुनै कुनै कम्पनीले आजभोलि नेपालीहरूको रूचि र स्वादको परख गर्दै हर्बल टी, ग्रीन टी, अर्थोडक्स टी, व्हाइट टीका अतिरिक्त मसला चिया, गोल्ड टी आदि उत्पादन गरी ग्राहकवर्गलाई  आफुतर्फ तान्ने प्रयास गरेको पनि भेटिन्छ ।

ब्रिटिश इष्ट इन्डिया कम्पनी भारतमा प्रवेश गरेपछि तिनीहरूको प्रयासमा दार्जिलिङमा उत्पादन गर्न थालिएको यो पेय पदार्थबाट प्रभावित भएर नै नेपालमा पनि यसको उत्पादन कार्य अघि बढाइएको मानिएतापनि इतिहासविद्हरू यो पनि दावी गर्छन् कि चिया खेतीका लागि यसको बीउ राणा प्रधानमन्त्री जङ्गबहादुर राणालाई तत्कालीन चिनियाँ बादशाहले उपहारस्वरूप प्रदान गरेका थिए । चियाको खेती गर्न थालिएपछि यसले चलचित्रकर्मी र निर्माताहरूका लागि नयाँ क्षितीज उघारिदिएको मात्र होइन पर्यटकीय दृष्टिकोणबाट समेत थप अवसर र ढोका खुल्न गएको देखिन्छ ।

एक किसिमको खाना, पेय, जडिबुटीका रूपमा स्वीकार गरिएको चियालाई हाम्रा सामान्य किसिमका बिमार, मित्रता बढाउनका लागि समेत प्रयोग हुने यो नगदे बालीको खेती सुरूमा नेपालको इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, सिन्धुपाल्चोक र कास्की गरी ६ जिल्लामा प्रारम्भ गरिएको भएतापनि इलाममा इलाम टी इस्टेट झापामा सोक्तिम टी इस्टेटको स्थापना भएको थियो – दुई वर्षको अन्तरालमा । राष्ट्रिय अन्तरराष्ट्रिय स्तरको मागलाई सम्बोधन गर्न र चिया उत्पादनमा बृद्धि गर्न पछि कास्की, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, भोजपुर, सोलुखुम्बु र नुवाकोटलगायतका अन्य जिल्लाहरूमा पनि विस्तार गरियो।

केही वर्षअघि यस आलेखकार इलाम र दार्जिलिङको भ्रमणमा जाँदा त्यहाँको भू–बनोट, हावापानी र सानो नेपाल भनेर चिनिने जिल्ला बागलुङ जिल्लाको मालिका, भकुण्डेका डाँडा–काँडाहरुको भू–बनोट तथा हावापानी मिल्दोजुल्दो लागेर हाम्रो ठाउँमा पनि यसको खेती हुन सक्दो हो भन्ने सोच बनेको थियो । यस सोचलाई केही उत्साही युवा कृषकहरुले यथार्थमा परिणत गरेका छन् हालैका वर्ष । (पूर्व राज्यमन्त्री रामजी शर्मासँगको भेटघाटका क्रममा जानकारी प्राप्त) । भौगोलिक दृष्टिबाट ३००० फीटदेखि ७३२५ फीटको उचाईमा अवस्थित गुराँसेमा उत्पादन हुने यो नगदे बालीको गाउँ–ठाउँ, शहर–बजार र देश–विदेशका सबै घरमा व्यापक माग छ ।

भनिन्छ, नेपालको उच्च पहाडी क्षेत्रमा उत्पादन हुने अर्थोडक्स चियामा क्यान्सरसँग लड्ने क्षमतासमेत रहेको छ । वर्तमान कोरोनाको कहरको महामारीबाट बच्न कागती, पुदिना, दालचिनी, अदुवा, मरिच आदि मिलाएर बनाएको चिया दिनमा दुई–तीनपटक पिउने गरेमा सन्त्रस्त जनमानसलाई केही सुरक्षाको अनुभूति दिनसक्ने विश्वास भुक्तभोगीहरु बताउँछन् । यसरी सर्वत्र लोकप्रियता हासिल गरी जैविक, आर्थिक, भौगोलिक, सांस्कृतिक र पर्यटकीय महत्तासमेत बोकेको यो पेयको उत्पादनको सम्भावना हाम्रो देशको अन्य कुन कुन स्थानमा छ, यसको व्यापक अध्ययन, खोजी र चर्चा हुन जरूरी छ ।

यो हाम्रै धवलागिरि अञ्चलका विभिन्न जिल्लाका अन्य स्थान तथा पाल्पा, गुल्मी, अर्घाखाँचीलगायतका विभिन्न जिल्लाका उच्च भूभागहरूमा पनि उत्पादनको सम्भावनाबारे सम्बन्धित निकायले गहन अध्ययन र ध्यान दिन ढिलो भएको त होइन ? समृद्ध नेपाल र सुखी नेपाली व्यवहारमा लागु गर्न कति समय पर्खनुपर्ला ?

:विभिन्न श्रोतहरुका आधारमा

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु