बामपन्थीबीच एकता सम्भव छैन : ओली

सेयर गर्नुहोस्

६ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामपन्थीबीच एकता गरेर नयँ ढंगले बामपन्थी आन्दोलन अगाडी बढाउने कुरा असम्भव रहेको बताएका छन् । उनले बापन्थीहरु जति जोडिए पनि फुटिरहने भएकाले एकताको कुरा नगर्न आग्रह गरेका छन् ।  उनले आफूले राजनीति सुरु गरेदेखिनै नेपाल बाम एकताको माला जपिएको तर, त्यो सम्भव नभएको भन्दै अब त्यस्ता पपुलिष्ट कुरा गरेर केहि फाइदा नहुने बताए । बुधबारको केन्द्रीय समिति बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले बामपन्थी शक्ति नमिली हुँदैन भन्ने पपुलिष्ट कुरा नगर्न आग्रह गरे ।

आफूले राजनीति सुरु गर्दादेखि नै वामपन्थी विभाजितै अवस्था थियो, त्यतिबेलादेखि माला जपेको हो, एउटा एकता गर्दा दुईवटा फुट्छ अनि केको एकता, ओलीले भने । उनले बामपन्थी एकता विना सम्भव छैन भन्दा राम्रो सुनिए पनि त्यो व्यवहारिक रुपमा नमिल्ने बताए । एमालेको नीति, एमालेको संगठनको सुप्रिमेसीलाई स्वीकार गरेर मात्र एकता गर्न सकिन्छ । दुईवटा अध्यक्ष राखेर एकता हुँदैन, ओलीले भने ।

अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानपछि आन्दोलन गर्नुपर्ने आवश्यकता महसुस भएको बताए । देश संकटमा परेकाले देश बचाउन शान्तिपूर्ण आन्दोलनको आवश्यकता आफूले देखेको उनको भनाइ छ । अभियानपछि आन्दोलनकारी ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता देखिरहेको उनले बताए ।

यही मंसिर १४ गतेदेखि दार्चुलाको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर एमालेले अभियान सुरु गर्दैछ । आन्दोलनका केही सर्त रहेको भन्दै ओलीले भने, ‘हामी हिंसाको बाटो हिँड्दैनौं । शान्तिको बाटोबाट, जनपरिचालनको बाटोबाट हिँड्छौं । जनताको बल प्रयोग गर्ने भनेका छौं, हिंसाको बाटोबाट होइन ।’

त्यसपछि लिडरसिपको विभिन्न तहमा छलफल गर्ने एउटा सही र सर्वसम्मत निष्कर्षका साथ मैदानमा उत्रिने ओलीले बताए । देशलाई निकास दिने बाटो एमालेले नसमातेमा अरुले त्यो रिक्ततालाई पूरा गर्ने बताउँदै ओलीले भने, ‘हेर्दाहेर्दै कसैका खल्तीबाट भुर्र परेवा उडाउन सक्छ है । जादू गर्दिए जस्तो गर्न सक्छ, चटक गर्दिएजस्तो गर्न सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *