कोशीमा एमालेले माग्यो मुख्यमन्त्री कार्कीको राजिनामा

सेयर गर्नुहोस्

२१ फागुन, विराटनगर । काठमाडौंमा माओवादी केन्द्रसहितका दलसँग सत्ता समीकरण बनेपछि एमालेले कोशीका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागेको छ । २७ असोजमा एमालेका ३९ सांसद र आफ्ना दलबाट बिद्रोह गरेका ८ सांसदको समर्थनमा कांग्रेस नेता केदार कार्की मुख्यमन्त्री बनेका थिए । तर सोमबार नयाँ राजनीतिक समीकरण बनेपछि एमालेले मुख्यमन्त्री कार्कीको राजीनामा माग गरेको हो । नेकपा एमाले कोशी प्रदेश प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री केदार कार्कीले तत्काल राजीनामा दिनुपर्ने बताए । ‘अब माथिको गठबन्धन भत्किएपछि उहाँ अल्पमतमा पर्नुभयो, गठबन्धन भत्किएपछि उहाँले नैतिकताका आधारमा आजभोलि नै राजीनामा दिनुपर्छ,’ उनले भने,‘ अर्को सरकारका लागि प्रदेश प्रमुखले आह्वान गर्नुहुन्छ । 

भण्डारीले प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धनभित्र सल्लाह गरेर अघि बढ्ने बताए । नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान भएपछि गत असोज २६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोलाई कोशीको मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो । तर नेपाली कांग्रेसका आठ सांसदसहित विद्रोह गरेका कार्कीलाई नेकपा एमालेले समर्थन गरेपछि उनले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष बहुमत सांसद ४७ जनाको हस्ताक्षर बुझाएका थिए । कार्की मुख्यमन्त्री नियुक्त भएपछि एमाले पनि सहभागी भयो । तर मुख्यमन्त्री नियुक्तपछि कार्की सत्ता गठबन्धनमै फर्किए र माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुलाई पनि सरकारमा सामेल गरे । त्यसपछि एमाले सरकारबाट बाहिरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *