१३ वैशाख, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् । त्यसका लागि कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बस्दै छ । मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिन लागेकाले प्रदेश सभाको बैठक दिउँसो तीन बजे बोलाइएको सूचना अधिकारी उपेन्द्र कुमार गुरुङले जानकारी दिए । कर्णाली प्रदेशसभा ४० सदस्य छन् । नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । यसैगरी राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एकरएक सांसद छन् । नेकपा एमाले र माओवादी केन्द्रको मात्रै संख्या जोड्ने हो भने पनि मुख्यमन्त्री कँडेलले विश्वासको मत पाउँछन् । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका कँडेल गत चैत २७ गते नियुक्त भएका थिए । मुख्यमन्त्री कँडेलले बुधबार नेकपा माओवादी केन्द्रका रणसिंह परियारलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग सहमति नजुट्दा मन्त्रिपरिषदले पूर्णता भने पाएको छैन । विहीबार विश्वासको मत लिएपछि मुख्यमन्त्री कँडेलले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् । बुधबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुको बैठकले मन्त्रालय भागबण्डा भने टुंगो लगाएको थियो । बैठकमा भएको सहमतिअनुसार नेकपा एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास, आन्तरिक मामिला र भूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्रालय पाउने छ । यस्तै माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय पाउने छ ।