१९ कार्तिक,काठमाडौं- वर्षातले बिपी राजमार्ग एकतर्फी बनेको छ।सोमबार बिहान परेको अविरल वर्षाले बिपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि भकुन्डेबेसीको बीचको भाग एकतर्फी बनेको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
‘आज बिहानैदेखि परेको पानीले काभ्रेभञ्ज्याङदेखि भकुन्डेसम्मको केही भागमा एकतर्फीरूपमा यातायात सञ्चालन भइरहेको छ। दुईतर्फी बनाउने प्रयास भइरहेको छ,’ उनले भने।असार १०, ११, १२ गते परेको वर्षाले बिपी राजमार्ग क्षतिग्रस्त तुल्याएको थियो। १३ दिनपछि अस्थायी ट्र्याक खनेर बाढीले बगाएको खण्ड जोडिएको थियो।
सोमबार परेको पानीले बेथानचोक–४ को सलान्दु बगरलगायतका ठाउँमा गाडी फसेको गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमिल्सिनाले जानकारी दिइन्।
‘पानी पर्नचाहिँ मत्थर भएको छ। तर खोलाको बगरैबगर बाटो खोलिएको ठाउँमा माथिबाट लेदो आएको छ। बाटो भासिएकाले सवारी गुड्न सकेका छैनन्। कतिपय ठाउँमा गाडीमा सवार यात्रुहरू पैदल हिँड्न थालेको सुनेका छौं। क्षतिको जानकारीचाहिँ आएको छैन,’ उनले भनिन्।वर्षाले बिपी राजमार्गलाई अस्थायी बनाइएको अरू ठाउँमा पनि समस्या भएको उनले बताइन्।