कांग्रेसले स्थानीय तह उपनिर्वाचनमा गठबन्धन नगर्ने

सेयर गर्नुहोस्

२० कार्तिक,काठमाडौं- नेपाली कांग्रेसले मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा गठबन्धन नगर्ने भएको छ।महासमिति बैठक र केन्द्रीय समितिको निर्णयअनुसार कांग्रेसले निर्वाचनमा गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा उत्रन लागेको हो।

महामन्त्री गगन थापाले महासमितिमा पेस गरेको ‘हाम्रो आफ्नो संगठनलाई थप उर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनर्स्थापित गर्नेछौं। हामी भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै तागतमा एक्लै लड्ने छौँ, र हाम्रा मतदातालाई रुख चुनावी चिह्नमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं´ भन्ने प्रस्तावलाई गत भदौको केन्द्रीय समितिले अनुमोदन गरेसँगै गठबन्धन नगरी एक्लै चुनाव लड्ने नीति कांग्रेसले लिएको थियो।

२०७९ मा भएको स्थानीय तह चुनावमा कांग्रेसले स्थानीय आवश्यकताअनुसार तालमेल गर्न सक्ने नीति लिएको थियो। त्यसबेला कांग्रेसले तत्कालीन सत्ता गठबन्धनमा रहेका दलहरूसँग पद बाँडफाँट गरेर चुनाव लडेको थियो। त्यसबेला कांग्रेसले जितेका अधिकांश ठाउँमा यसपालि उपनिर्वाचन हुन लागेको हो।

महामन्त्रीसमेत रहेका स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक विश्वप्रकाश शर्माले उपनिर्वाचन एक्लै लड्ने पार्टीको निर्णय रहेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *