२१ कार्तिक,काठमाडौं- कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई अनुमति नलिइकन गरिएको जापान भ्रमण महंगो पर्ने देखिएको छ ।टोकियो महानगरको आयोजनामा भएको कार्यक्रममा भाग लिन कात्तिक १३ गते जापान गएका उनी फर्किएलगत्तै बढेको विवाद उनले राजीनामा दिनुपर्ने अवस्थासम्म आइपुगेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि उनले आज बुधबार राजीनामा दिन लागेका छन् ।
मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारी मन्त्रीपरिषद्को निर्णयविपरीत जापान पुगेका थिए ।राजीनामा दिनुअघि उनले पत्रकार सम्मेलन गर्दैछन् । अधिकारीले नैतिकतामा आधारमा राजीनामा दिन लागेको उनी निकट स्रोतले बताएको छ ।