२ मंसिर ,काठमाडौँ – पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ।
उनी क्यान्सर रोगबाट पीडित थिए। केही समयअघि भारतमा उपचार गराएर उनी नेपाल फर्किएका थिए। उनको आइतबार दिउँसो फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
उनी २०४६ सालको जनआन्दोलनपछिको पहिलो प्रतिनिधिसभामा २०४८ देखि २०५१ सालसम्म सभामुख थिए।सभामुख रहँदा उनी प्रतिपक्षीको संरक्षक बनेको भन्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला उनीसँग रुष्ट बनेका थिए। त्यसपछि उनी चुनाव लडे पनि जित भने हात पार्न सकेनन्। उनले कांग्रेसको विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए।
माओवादीलाई शान्तिप्रक्रियामा ल्याउनका लागि पनि ढुंगानाको भूमिका महत्वपूर्ण रहेको मानिन्छ। उनले शान्ति प्रक्रियाका लागि अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरेका थिए।वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना सक्रिय राजनीतिबाट टाढिएपछि मानवअधिकारको क्षेत्रमा क्रियाशिल थिए।उनका एक छोरा र एक छोरी छन्। पारिवारिक स्रोतका अनुसार ढुंगानाको सोमबार अन्त्येष्टी गरिनेछ।