३ कार्तिक,काठमाडौं- लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको यो चलचित्र ‘पूर्णबहादुरको सारंगी’ को व्यापारको रफ्तार तेस्रो सातामा पनि घटेको छैन। यो चलचित्रले अहिलेसम्म देशव्यापी ३४ करोड रूपैयाँभन्दा माथिको कमाइ गरिसकेको छ। निर्माता विनोद पौडेलका अनुसार चलचित्रले शनिबारसम्म ३४ करोड ३६ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ।
विजय बराल मुख्य भुमिकामा रहेको यो चलचित्रले सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड राखिसकेको छ। एकदिनमा सर्वाधिक धेरै कमाइ गर्ने, सर्वाधिक शो पाउने लगायतका रेकर्ड पनि फिल्मले राखेको छ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको ‘पूर्णबहादुरको सारंगी’ मा विजय बरालसहित प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा लगायत कलाकारहरूको अभिनय छ।फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्। विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मका निर्माता हुन्। तेस्रो सातामा पनि फिल्म हाउसफुल चलिरहेको छ।
नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमासमेत निस्किएको छ । निर्माता पौडेलले पूर्वबाट भ्रमण सुरु गरेको छ । भ्रमणमा निर्माता पौडेलसँगै अभिनेता विजय बराल, अभिनेत्री अञ्जना बराइली लगायत रहेका छन् ।