२४ मंसिर, बारा । विश्वप्रसिद्ध गढिमाई मेलामा कनेक्ट किसानद्वारा आयोजित कृषि प्रदर्शनीको अवलोकन मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गरेका छन् । प्रदर्शनीको अवलोकन गर्दै मुख्यमन्त्री सिंहले कृषि विशेष प्रदर्शनी आयोजना गरेकोमा कनेक्ट किसानलाई धन्यवाद व्यक्त गरेका थिए ।
उनले मधेस सरकारले छिट्टै प्रदेश स्तरीय कृषि प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिँदै कनेक्ट किसानसँग सहकार्यका लागि आग्रह गरे । कनेक्ट किसानका अध्यक्ष सञ्जीता लामिछानेका अनुसार मुख्यमन्त्री सिंहले मधेसको समृद्धि केवल कृषिको आधुनिकीकरण र कृषकको स्तरवृद्धिबाटै सम्भव हुने बताए ।
अन्नको भण्डार मानिने मधेसमा कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै मुख्यमन्त्री सिंहले स्थानीय किसानलाई प्राविधिक सहयोग, नवप्रवर्तन, र सहुलियत योजनामार्फत आत्मनिर्भर बनाउन सरकार कटिबद्ध रहेको बताए ।
मुख्यमन्त्रीसँगै उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अली मियाँ र पर्यटन सचिव सुशील साहले पनि प्रदर्शनीको अवलोकन गरेका थिए ।कृषि क्षेत्रमा आधुनिकीकरण र उत्पादकत्व वृद्धिका लागि स्थानीय तथा प्रदेश सरकारको सहकार्य आवश्यक रहेको चर्चा गर्दै प्रदर्शनीले किसानका लागि नवीनतम प्रविधि र जानकारीको आदानप्रदानको अवसर प्रदान गरेको आयोजक कनेक्ट किसानले जनाएको छ।
प्रदर्शनीका क्रममा कनेक्ट किसानले आधुनिक कृषि प्रविधि, बीउबिजन, मल तथा अन्य आवश्यक सामग्रीका बारेमा जानकारी गराएको थियो। यसले किसानलाई व्यवसायिक कृषितर्फ प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।
५ वर्षको अन्तरालमा लाग्ने गढीमाई मेलामा सहभागी हुने भक्तजन र तराई क्षेत्रका कृषकहरुलाई प्रविधि र बजारसँग जोड्ने उद्देश्यले उक्त एक्स्पो आयोजना गरिएको आयोजकले जनाएको छ । किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकार राख्ने अभियान्ताहरूको जमघट गर्ने यो मेला कनेक्ट किसानको प्रमुख आयोजनामा हुनेछ।
मेला संयोजक सञ्चिता लामिछानेले एक्स्पोमा २ लाख भन्दा बढी अवलोकनकर्ताको सहभागीता र ५ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने जानकारी दिइन् । आयोजकका अनुसार एक्स्पोमा १ सय ५० भन्दा बढी स्टल रहनेछन्, जहाँ कृषिमा भित्रिएको नवीनतम प्रविधि, मल, बीउ, परामर्श र अन्य आवश्यक सामग्रीहरू एकै ठाउँमा उपलब्ध हुनेछन्। एक्स्पोको प्रमुख आकर्षण कृषि सेमिनार हुनेछ, जहाँ किसानहरूले विज्ञहरूसँग निस्शुल्क परामर्श लिन र भलाकुसारी गर्ने अवसर पाउने आयोजकले जनाएको छ ।
एक्स्पोको सफलताका लागि कृषि सूचना तथा प्रशिक्षण केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि औजार अनुसन्धान केन्द्र, कृषि अनुसन्धान निर्देशनालय, राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्र, कृषि ज्ञान केन्द्र र कृषि उद्यम केन्द्र लगायतका विभिन्न संघ संस्थाहरुले प्रवर्द्धक र साझेदारको भूमिका निर्वाह गर्नेछन्।
एक्स्पोमा कृषिका विभिन्न विधा जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई९भैँसी पालन, डेरी खेती, केरा खेती, थोपा सिँचाई, विषादी रहित कृषि र कृषि नविनतम औजारहरूको प्रदर्शनी गरिने छ। यससँगै, देशभरिबाट उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी र अन्य कृषकहरूले आधुनिक प्रविधिको जानकारी प्राप्त गर्ने विश्वास आयोजकको छ । बारामा कनेक्ट किसानको आयोजनामा गत मंसिर १८ गतेदेखि भोलि २४ गतेसम्म ‘कृषि एक्स्पो गढीमाई २०८१’ आयोजना हुने छ ।