९ माघ, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । त्यो वस्तु लागूऔषध हुनसक्ने शंका गरिएको छ । क्याथे प्यासिफिक एयरलाइन्सबाट हङकङ जान लागेका चिनियाँ नागरिकको सुटकेशभित्र सोमबार लागूऔषध जस्तो देखिने वस्तु भेटिएको थियो । ‘उनले त्यो के हो भनेका छैनन्, तर लागूऔषध भएको शंका लगेर केरकार गरेका थियौं’, विमानस्थल सुरक्षमा खटिएका एक अधिकृतले भने । लागूऔषध नियन्त्रण ब्यूरोले बरामद वस्तुलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको छ । ‘नतिजा आएपछि सार्वजनिक गर्छौं’, ब्यूरोका प्रवक्ता रामेश्वर कार्कीले भने ।
स्रोतका अनुसार, पक्राउ परेका चिनियाँ नागरिकले आफूलाई एक जना व्यक्तिले निश्चित रकम दिने गरी लगिदिन भनेको बताएका छन् । ‘मलाई उनले विद्युतीय सामान छ भनेका थिए, मलाई यस्तो सामान छ भन्ने थाहा थिएन’, उनले दाबी गरेका छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।