सामान्य विवादले लियो ज्यान, शंखमुलमा २२ वर्षीय युवकको हत्या

25 August, 2026 14 Views
सामान्य विवादले लियो ज्यान, शंखमुलमा २२ वर्षीय युवकको हत्या
14

काठमाडौं । काठमाडौंको शंखमुलस्थित एक होस्टलमा २२ वर्षीय युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।

दाङको घोराही उपमहानगरपालिका–१७ का बसन्त कालाखेती शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा बसेर फ्रेन्च भाषा अध्ययन गर्दै आएका थिए। भाषा सिकेर फ्रान्स जाने तयारीमा रहेका उनको सामान्य विवादका क्रममा हत्या भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भदौ ४ गते राति बसन्तसहित होस्टलमा बस्ने १९ वर्षीय शेखर यादव र प्रमित पटेलले शंखमुलको एक रेस्टुरेन्टमा मदिरा सेवन गरेका थिए। सो क्रममा सामान्य विवाद भएपछि उनीहरूबीच हात हालाहालसमेत भएको थियो।

भोलिपल्ट बिहान शेखर र प्रमित धारिलो हतियारसहित होस्टलको तेस्रो तलामा रहेको बसन्तको कोठामा पुगेका थिए। उनीहरूले बसन्तमाथि हतियार प्रहार गरेपछि गम्भीर घाइते भएका उनलाई सिभिल अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले शेखरलाई शंखमुलबाटै र प्रमितलाई मकवानपुरको भैँसेबाट पक्राउ गरेको छ। होस्टल सञ्चालक आलोक ठाकुरलाई समेत प्रहरीले पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार पक्राउ परेका युवाहरू होस्टलमा बसेर आईएलटीएस तथा एमबीबीएस प्रवेश परीक्षाको तयारी गर्दै आएका थिए।

यसैबीच, बसन्तको हत्या भएको दिन दाङस्थित घरमा उनकी ३८ वर्षीया आमा बिना कालाथोकी पनि मृत अवस्थामा फेला परेकी छन्। उनी घरको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनका श्रीमान् वैदेशिक रोजगारीका क्रममा मलेसियामा छन्।

घटना सम्बन्धमा नयाँ बानेश्वर प्रहरीले अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको छ।

Related Post