हेटौँडा । नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा राजनीतिक दलहरूबीच सत्ता समीकरणबारे छलफल सुरु भएको छ ।
यसअघि नेकपा (एमाले) ले नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । सरकार गठनका लागि १०४ सदस्यीय प्रदेशसभामा कम्तीमा ५३ सांसदको समर्थन आवश्यक हुन्छ ।
प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, नेकपा (एमाले) का २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन् ।
नेकपा (एमाले) र नेकपाबीच सत्ता सहकार्यको सहमति भए पनि यी दुई दलका सांसद मात्रको समर्थनले सरकार गठनका लागि आवश्यक बहुमत पुग्दैन । त्यसैले एमालेले नेकपासहित अन्य सम्भावित साझेदार दलहरूसँग छलफल अघि बढाइरहेको एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताएका छन् ।
यता, प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रयास थालेको छ । कांग्रेसले राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीसँग सरकार गठनबारे छलफल गरिरहेको कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक पुकार महर्जनले बताएका छन् |