विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । झडपमा ८ जना प्रदर्शनकारी र ८ जना प्रहरी घाइते भएका छन् ।
सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहता छन् । गम्भीर घाइते मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो ।
प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । रातिको समयमा होहल्ला गरेको भन्दै अर्को समूहले विरोध गरेपछि दुई पक्षबीच विवाद सुरु भएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर गरेको थियो । त्यसपछि पनि अवस्था नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको जनाएको छ ।
झडपमा घाइते भएका ८ प्रदर्शनकारीको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये अधिकांशलाई गोली लागेको प्रहरीले जनाएको छ । कोशी अस्पतालमा मिथलेश यादव, अमलेश मेहता, मिथलेश मेहता र अमितकुमार यादवको उपचार भइरहेको छ । यस्तै, रविन्द्र मेहता, अमितकुमार यादव, सुनिलकुमार मेहता र अर्का सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
झडपमा प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी पनि घाइते भएका छन् । राईको टाउकोमा चोट लागेको छ । घाइते हुने अन्य सुरक्षाकर्मीमा प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव छन् ।
झडपका क्रममा कप्तानगन्ज बजारका घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।