काठमाडौं । काठमाडौं महानगरपालिका–१५ स्थित चमतीबाट प्रहरीले ३१ लाख रुपैयाँ नगदसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले स्रोत नखुलेको रकमसहित ५२ वर्षीय चिनियाँ नागरिक मा यागुबीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार लागुऔषध कारोबारसम्बन्धी सूचनाको आधारमा अनुसन्धान अघि बढाउने क्रममा सोमबार चमतीस्थित उनले भाडामा लिएको कोठामा खानतलासी गरिएको थियो। त्यसक्रममा ३१ लाख रुपैयाँ नगद फेला परेको हो।
लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुबास बोहराले उनको साथबाट लागुऔषध भने बरामद नभएको जानकारी दिएका छन्। तर, रकमको स्रोत नखुलेको र उनीसँग सुन काट्न प्रयोग हुने कैँची तथा डिजिटल तराजु समेत भेटिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
प्रहरीले बरामद रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुनसक्ने आशंका गरेको छ। अनुसन्धानमा संलग्न अधिकारीहरूले पक्राउ परेका चिनियाँ नागरिक सुन कारोबारमा समेत संलग्न हुनसक्ने आशंका गरेका छन्।
आरोपीमाथि थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरोले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको जनाएको छ।