दोलखालाई ट्रान्जिट बनाएर करिब ३३ किलो सुन तस्करी भएको अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी

सेयर गर्नुहोस्

३ मंसिर, काठमाडौं । त्रिभुवन विमानस्थल बाहिरबाट ६१ केजी सुन समातिएपछि तस्करहरूले दोलखालाई सुन तस्करीको ट्रान्जिट बनाएको प्रहरीको अनुमान छ । दोलखा जिल्लाबाट बरामद भएको सुन र तस्करहरूको अवस्थाबारे प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउन लागेको छ । यो प्रतिवेदन जिल्ला प्रहरी कार्यालय दोलखाको सहयोगमा बुझाउन लागिएको प्रहरीले जनाएको छ । प्रहरीले सोमबारभित्र सुन तस्करीमा संलग्न १५ जनाविरुद्ध संगठित अपराध, भन्सार चोरी पैठारी, नेपाल राष्ट्र बैंक ऐनअनुसार क्रिप्टो कारोबारको कसुर चल्ने गरी प्रतिवेदन बुझाउन लागेको हो । प्रहरीले यस प्रकरणमा २६ जना संलग्न भएको भेट्टाए पनि अहिलेसम्म १५ जनालाई पक्राउ गरेको छ । दोलखालाई ट्रान्जिट बनाएर करिब ३३ केजी सुन तस्करी भएको प्रहरीको अनुमान छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार दोलखाको लामाबगर क्षेत्र हुँदै चिनियाँ समूहले ३३ किलो सुन नेपालमा तस्करी गरेको निष्कर्ष प्रहरीको छ । यस अनुसार प्रतिवेदन बनाउने काम भएको छ । सम्भवतः आइतबार वा सोमबारसम्म सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाइने छ । तस्करी भएको ३३ किलोमध्ये साढे ११ किलो दोलखा प्रहरीले बरामद गरेको छ ।

करिब ६० दिन लामो अनुसन्धानमा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको हो । पक्राउ परेकामाथि संगठित अपराध, भन्सार चोरी पैठारी, नेपाल राष्ट्र बैंक ऐनअनुसार क्रिप्टो कारोबारको कसुर चल्ने भएको छ । प्रहरीले वनसम्बन्धी मुद्दाबारे पनि छलफल चलाएको छ । सुन तस्करीमा संलग्न चिनियाँले नेपालबाट चीनमा कस्तुरीको बिना तथा यार्साको तस्करी गरेको खुलेको छ । तर, बरामद हुन नसकेकाले मुद्दा चलाउने नचलाउने टुंगो नलागेको बताइएको छ ।

दोलखा प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को सहयोगमा तस्करी गर्ने समूहमाथि विस्तृत अनुसन्धान गरेको हो । असोजको पहिलो साता दोलखाको उत्तरी नाका फलेकबाट तस्करी भई आएको ११ किलो ४५ तोला सुन प्रहरीले बरामद गरेको थियो । उनीहरूले तीन केजी सुन बिक्री गरेका सुन पसले पक्राउ परेका छन् । बाँकी १९ केजी एक तिब्बती मूलका भारतीयलाई बिक्री गरेको थाहा भएको प्रहरीको भनाइ छ ।

गिरोहका मुख्य नाइके चिनियाँ नागरिक ६६ वर्षीय टासी दावा भनिने आगर लामा र गेङ राउ भएको प्रहरीको भनाइ छ । आगरका भाइबुहारी ल्हासामा रहेको र उनीहरूले नै नेपालमा सुन तस्करी गराउँदै आएको प्रहरीको भनाइ छ । दोलखाको बिगु गाउँपालिका– १ का ५५ वर्षीय नुर्बु छिरिङ शेर्पा र सुनमाला तामाङले पनि सघाएका थिए । तस्करीको सुन किन्ने काठमाडौंका सुन पसले दीपेन्द्र शाक्य र तिलक बिक पनि पक्राउ परिसकेका छन् । त्यस्तै, क्रिप्टो कारोबार तथा सुन बिक्रीमा संलग्न महिला माझी र सनत प्रधानको संलग्नता खुलेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

चिनियाँलाई सघाउने लालबहादुर तामाङ, पेम्बा तामाङ, च्यांबा भनिने चसमान तामाङ, केशर तामाङ, माधव मगर, चेतनाथ न्यौपाने पनि प्रहरी हिरासतमा छन् । पक्राउ परेकामध्ये एक किशोर भने नाबालक भएकाले तारेखमा छुटेका छन् । आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने क्रममा बोरा नै चोरी भएपछि प्रहरीले तस्करीको सूचना पाएपछि सुन बरामद गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *