पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा राप्रपाले ७ हजार मोटरसाइकलको र्‍यालीसहित भोलि शक्ति प्रदर्शन गर्ने

सेयर गर्नुहोस्

८ मंसिर, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणको सिलसिलामा झापा प्रस्थान गरेका छन् । उनी बुद्ध एयरको जहाजबाट आज दिउँसो झापा हिँडेका हुन् । झापामा पूर्वराजाको भ्रमण सफल र भव्य बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै तयारी गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन डेढ सातादेखि झापामै बसेर भ्रमणको चाँजोपाँजो मिलाइरहेका छन् । दुर्गा प्रसाईंले काठमाडौंमा हजारौं मान्छे उतारेपछि राप्रपाका लागि पूर्वराजाको भ्रमण विशेष बनाउनुपर्ने चुनौति छ ।

पूर्वराजा ज्ञानेन्द्र आज झापामा उत्रेर मेचीनगर रिसोर्टमा बास बस्नेछन् । भोलि धुलाबारी नजिकै निन्जाखोलाको पुल वारीबाट विशाल मोटरसाइकल र्यालीको तयारी गरिएको छ । र्‍यालीमा कम्तिमा ७ हजार मोटरसाइकल उतार्ने दावी गरिएको छ । यो मोटरसाइकल र्‍याली १२ किलोमिटर यात्रा गर्दे बिर्तामोड पुग्नेछ ।

पूर्वराजा भाटभटेनी अगाडि गाडीबाट ओर्लिनेछन् । त्यहाँबाट उनले करिब ४५ मिनेट पैदल हिँड्ने कार्यक्रम बनाइएको छ । बिर्तामोडमा ५० हजारको जनप्रदर्शनसहित पूर्वराजाको स्वागत गर्ने तयारी राप्रपाले गरेको छ । पूर्वराजा नागरिकहरुको स्वागत अभिनन्दन ग्रहण गर्दै इकम क्याम्पसमा पुग्ने छन् । त्यहाँ रहेको बडामहाराजधिराज पृथ्वीनारायण शाहको शालिक पूर्वराजाले अनावरण गर्ने कार्यक्रम छ ।

पूर्वराजाले स्थानीय बुद्धिजिवी र नेताहरुसँग भेटघाट र भलाकुसारी गर्नेछन् । पूर्वराजाको भ्रमणलाई भव्य, ऐतिहासिक र सफल बनाउन पार्टीको सम्पूर्ण शक्ति परिचालन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *