रोजगारीका लागी विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण गराउने संस्थाहरूले पुस मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने

सेयर गर्नुहोस्

१५ मंसिर,काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरुले पुस मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने भएको छ । १५ हजार रुपैयाँ नवीकरण दस्तुर तिरेर पुस मसान्तभित्र नवीकरण गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७२ एवं वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५ क। मा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने सूचिकृत स्वास्थ्य संस्थाहरुले सूचीकरण नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।त्यस्तै वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ को दफा ४ मा अनुसार सूचीकृत भएका वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाले सूचीकरण नवीकरण भएको मितिदेखि तेस्रो वर्षको पौष एक गतेदेखि पौष मसान्तसम्म १५ हजार रुपैयाँ तिरेर नवीकरण गर्नुपर्ने भन्ने छ।सोही आधारमा मन्त्रालयको बैंक खातामा तोकिएको दस्तुर र रकम जम्मा गरी पुस मसान्तभित्र सूचीकरण नवीकरणको लागि निवेदन पेस गर्न अनुरोध गरेको छ ।

नवीकरणको लागि निवेदन दिँदा सूचीकरण प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो नवीकरण भएको भए सो प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।त्यस्तै अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, स्वास्थ्य मन्त्रालय वा अन्तर्गतबाट संस्था सञ्चालन स्वीकृतिको प्रमाणपत्र र नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समेत पेस गर्नुपर्नेछ । त्यस्तै नाम वा ठेगाना परिवर्तन गरेको भए सम्बन्धित निकायबाट सोको स्वीकृति प्राप्त गरेको पत्रको प्रतिलिपि पेस गर्नुपर्ने मन्त्रालयले जनाएको छ। तोकिएको सर्तहरू पूरा नगरिएको खण्डमा नवीकरण नगर्ने र कारोबार रोक्का गरिने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *