छुरा प्रहारबाट घाइते दक्षिण कोरियाली नेताको घाँटीमा डेढ सेन्टिमिटरको चोट

सेयर गर्नुहोस्

१८ पौष,काठमाडौं । दक्षिण कोरियाको प्रमुख विपक्षी डेमोक्र्याटिक पार्टीका नेता ली जे म्युङलाई दक्षिणपूर्वी बन्दरगाह शहर बुसानको भ्रमणका क्रममा ६० वर्षका एक व्यक्तिले घाँटीमा छुरा प्रहार गर्दा मङ्गलवार घाइते भएका छन् । लीलाई करिब डेढ सेन्टिमिटरको चोट लागेको बताइएको छ । स्थानीय समय अनुसार बिहान १०ः२७ बजे बुसानको नयाँ विमानस्थलको निर्माण स्थलको भ्रमण गरिसकेपछि लीको घाँटीको देब्रेपट्टि छुरा प्रहार भएको थियो । बुसानमा आकस्मिक उपचारपछि उनलाई शल्यक्रियाका लागि हेलिकप्टरबाट सियोलको अस्पतालमा लगिएको छ ।

भिडियो फुटेजमा आक्रमणकारीले अटोग्राफ माग्दै लीको नजिक गएका र उनको देब्रे घाँटीमा छुरा प्रहार गरेको देखिएको छ । ६० वर्षको किमको थरबाट मात्र पहिचान भएका आक्रमणकारीले डेमोक्र्याटिक पार्टीका नेतालाई मार्ने मनशाय रहेको प्रहरीलाई बताएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । किमले गत वर्ष इन्टरनेटमा करिव १८ सेन्टिमिटर लामो चक्कु किनेका थिए । उनको अन्य कुनै आपराधिक रेकर्ड थिएन । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले पुलिस र सम्बन्धित अधिकारीहरूलाई छिटो सत्यतथ्य पत्ता लगाउन र लीको उपचारका लागि सहयोग गर्न हरसम्भव प्रयास गर्न आदेश दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *